chrj chrj
chrj chrj

दसैँको बेला सानीभेरीका सात सय घरधुरीमा बिद्युतको केन्द्रिय लाईन बिस्तार

माग पुरा भएपछि स्थानीयवासीमा खुशीयाली
बुधबार, असोज २३, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ७ र ९ मा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय लाईन जडान गरिएको छ । दुवै वडाका सात सय घरधुरीमा बिद्युतिकरण गरिएको हो । 

ward1

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख ई. बिरमान रास्कोटीका अनुसार वडा नम्वर ७ का चार सय र वडा नम्वर ९ का तीन सय घरधुरीमा केन्द्रिय लाईन बिस्तार गरिएको हो । वडा नम्वर ७ का ३१ टोल र ९ का १३ वटा टोलमा केन्द्रिय लाईनको बिजुली बल्न सुरु गरेको छ । 

वितरण केन्द्र प्रमुख ई. रास्कोटीले वडा नम्वर ७ मा १६० र ९ मा एक सय वटा मिटर वितरण गरिएको बताउनुभयो । मिटर अभावको कारण २६० वटा मिटर मात्र उपलब्ध गराउन सकिएको हो । उहाँका अनुसार हाललाई ग्राहकहरुले साझेदारी गरेर वितरण गरिएका मिटर मार्फत आआफ्नो घरमा लाईन जोड्नु भएको छ ।  

यसअघि वडा नम्वर ७ मा रोलखोला लघु जलविद्युत आयोजना मार्फत ३३ किलोवाट विद्युत उत्पादन गरेर यहाँका चार सय घरधुरीमा विद्युत सेवा वितरण गरिएको थियो । उक्त विद्युत बेलाबेला बिग्रने, पूर्ण क्षमताको र नियमित नहुनेभएपछि केन्द्रिय लाईन जडानको माग बढेको थियो । 

त्यसैगरी वडा नम्वर ९ मा यस अघि सिम्ली खोला लघु जलविद्युत आयोजना मार्फत २९ किलोवाट विद्युत उत्पादन भएर यहाँका तीन सय घरधुरीमा विद्युत जडान गरिएको थियो । पटक पटक बिग्रदै आएको यो आयोजनाको विद्युत सेवा गत बैशाखदेखि अवरोध रहेको थियो । 

स्थानीय लघु जलबिद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत नियमित नहुँदा यहाँका सर्वसाधारणहरुले सहज बिद्युत सेवा उपयोग गर्न पाएका थिएनन् । गत साउन २८ गते रुकुम पश्चिम वितरण केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालेपछि स्थानीयको माग र आवश्यकता पहिचान गरेर आफूले सात सय घरधुरीमा विद्युत लाईन बिस्तार गर्न सफल भएको वितरण केन्द्र प्रमुख ई. रास्कोटीले बताउनुभयो । 

अहिले वडा नम्वर ७ को फुक्रुजीउला र सहरेगाउँमा २५/२५ केभी क्षमताको ट्रान्सफर राखिएको वितरण केन्द्र प्रमुख ई. रास्कोटीले जानकारी दिनुभयो । त्यसैगरी वडा नम्वर ९ को टनेलचौरमा ५० केभी र सुलीहालेमा २५ केभी क्षमताको नयाँ ट्रान्सफर राखिएको छ भने हासिबाङमा रहेको ट्रान्सफरलाई बिस्तार गरेर ५० केभी क्षमता बनाई सञ्चालन गरिएको छ । 

दसैँको बेला घरघरमा केन्द्रिय लाईन जडान भएर झिलिमिलि भएपछि स्थानीयवासीहरु खुशी भएका छन् । स्थानीय लाईन पटक पटक बिग्रने गरेपछि स्थानीयले लामो समयदेखि केन्द्रिय लाईन जडानको माग गर्दै आएका थिए । आफ्नो माग पुरा भएको उनीहरुको भनाई रहेको छ । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्