सोसल मिडिया
सामाजिक सञ्जालको प्रयोग बढ्दै गएपछि बेलाबखत विगतका स्मृतिहरू पनि ताजा हुने गरेका छन् । बिहान एकाएक सामाजिक सञ्जाल फेसबुकले ९ वर्ष अघिको घटनाको पुर्नस्मरण गरायो ।
२०७२ असोज २१ गतेको रात थियो । जो जीवनको असामान्य रातको रुपमा मनमस्तिष्कमा गढेर बसेको छ । रातीमा यात्रा गर्नु परेको असामान्य स्थिति र आइलागेको अन्ठसन्ठपूर्ण अवस्था थियो । त्यो बाटो यात्रा गर्दा त्यो रातको स्मृति ताजा बनेर आउँछ । कल्पना र यथार्थ हुबहु हुँदैन । त्यसको पुष्टि त्यो रातको घटनाले पनि गर्यो ।
काम विशेषले काठमाडौं पुगेको थिएँ । काठमाडौंको यात्रा पहिलो पटक थियो । जाजरकोट मटेलाबाट रात्री बस चढेर काठमाडौंको यात्रा तय गरिएको थियो । चार दिनको बसाइपछि नेपालगञ्ज फर्कै ।
२०७२ असोज २ गते संविधान जारी भयो । मधेसतिर संविधानका केही अन्तरवस्तुमा असन्तुष्टिका भावहरू प्रकट भएका थिए । त्यही निहुँमा छिमेकी मुलुकबाट अघोषित नाकाबन्दी भयो । विशेषगरी नाकाबन्दीको प्रत्यक्ष असर इन्धनमा परेको थियो । इन्धनको अभावमा गाडीहरूको आवागमन नियमित र सहज थिएन । नेपालगञ्ज बसपार्कमा गणतव्यमा पुग्न चाहने यात्रुहरूको मेला जस्तै थियो । ठूलो भिडभाड थियो ।
दसैं नजिकिएकोले कालापहाडबाट घर फर्कनेहरूको सङ्ख्या पनि उत्तिकै थियो । अन्य कामकाजका लागि सहर पसेकाहरूको पनि घर फर्कने सङ्ख्यामा कमी थिएन । हिडेर घर फर्कन पनि त सम्भव थिएन । परिस्थिति निकै अप्ठ्यारो थियो । यात्रुहरू सबै निराश र घर कसरी पुग्ने तनावमा थियौं ।
त्यही बिचमा चौरजहारी छुट्ने तीन वटा बस धनीले मुश्किलले इन्धनको जोह गर्नुभयो । बेलुका छ र सात बजेतिर मात्रै चौरजहारीका लागि बस छुट्ने जानकारी प्राप्त भयो । सोहीबमोजिम ठेलमठेल अवस्थामा यात्रा हुने करिब पक्का भयो । निराश भएका मनहरूमा खुसीको सञ्चरण भयो । बसभित्र भिडभाड निकै भएता पनि घर पुगिने भएपछि प्रशन्नता छाएको थियो ।
झिरमिरे अध्याँरो हुँदै थियो । साँझ सात बजे नेपालगञ्ज बसपार्कदेखि तीन वटा बस सँगसँगै छुटे । कतिपयले फेसबुकको स्टाटसमा समेत सुरु भयो NPj to Chaurjahari को यात्रासमेत लेख्न भ्याए । बसभित्र बज्ने विभिन्न लोकगीतका साथ यात्रा अघि बढिरहेको थियो । करिब साढे ११ बजे हामी सल्लीबजार पुग्यौं । त्यहीं हामीले खाना खायौं ।
कतिपय यात्रुहरू गाडी यात्राले लथ्रयाक लुथ्रुक थिए त कतिपय गफिदै थिए । आ-आफ्नै सुर र चिन्तनमा थिए । मेरो मनमा पनि विभिन्न कुराहरू खेलिरहेका थिए । आफैंसँग अन्तरसंवाद गर्दै बाटो र समय काट्ने काम भइरहेको थियो ।
सल्यानको सल्लीबजार खाना खाएपछि बस अघि बढ्यो । त्यसको केही समयपछि ठूलो आवाज आयो । गोली हाने झैं । मन झसङ्ग भयो । तर भएको अर्कै रहेछ । बसको टायर पन्चर भएछ । टायर पन्चर हुँदा पनि ठूलो आवाज आएर पड्किन्छ भन्ने मलाई जानकारी थिएन् । पहिलोपटक त्यो ज्ञात भयो । अर्को टायरको बन्दोबन्द मिलाएपछि यात्रा पुनस् अगाडि बढ्यो ।
तीन वटा बसहरू सँगसँगै अगाडि कुँदिरहेका थिए । धेरै जसो जहारीक्षेत्रका यात्रुहरू हुनुहुन्थ्यो । असारमा खेतीपाती लगाएर कमाउन कालापहाड गएर घर फर्केको टोली थियो । कति जनाले त स्याउ खाँदै खुवाउदै पनि गर्नुभयो । साथमा गीत सङ्गीतको आनन्द त छदै थियो ।
हालको कुमाँख गाउँपालिकाको नेटा पुग्न करिब १.५ किलोमिटर जति मात्रै बाँकी थियो । जहाँ अस्थायी प्रहरी चौकी पनि छ । बस एक्कासी रोकियो । अगाडि रूख ढलेकोले गाडी रोकिएको भन्ने जानकारी भयो । केही सेकेन्डमै फाइरिङ भएको आवाज आयो ।
अघि टायर पन्चर हुँदा आवाज आएकोले मैंले फेरि टायर पन्चर भयो भन्ने ठाने । वास्तमै हतियारको फाइरिङ भएको रहेछ । सबै चुपचाप भयौं । किन के भयो ? भन्ने मात्रै मनमा खेल्यो । हामी सबैभन्दा अन्तिम बसमा थियौं ।
एक जना बन्दुकधारी चालकको ढोकाबाट बन्दुकको नाल भित्र घुसायो ।
थर्कायो, -"गाडीको चापी निकाल । यता दे चापी ।" चालकले खुरुक्क चापी दिए ।
किनकी बन्दुकको नाल उनको काँधसम्म आइपुगेको थियो । म चालकको नजिकै थिए । बन्दुकवालाको अनुहार हेर्ने कोसिस गरें । सम्भव भएन । किनकि उसले कसैले चिन्न नसकोस् भनेर आँखा मात्र देखिने गरी अनुहार छोपेको थियो ।
देशमा संविधानप्रति असन्तुष्टि व्यक्त गर्ने समूहका पनि आक्रामक गतिविधिहरू सुन्न पाइन्थ्यो । कतै तिनै समूहको निगरानीमा परेको मान्छे यो बसमा चढेको त छैन रु सायद त्यही भएर पो हो कि रु मनमनै सोचें ।
हाम्रो बसमा भएको जस्तो हालत अगाडि रहेका दुई वटा बसमा पनि रहेछ । ती बसमा लुटपाट सकिए पछि हाम्रो पालो सुरु भएछ । दुई जना भित्र पसे । एक जनाले झोला थाप्ने र अर्कोले खानतलासी गरी पैसा, मोबाइल लगायतका सामग्री खोस्न थाले ।
खानतलासी सबैभन्दा पछाडिको सिटबाट सुरु भयो । अनि बल्ल थाहा भयो हामी लुटिदै छौं भन्ने कुरा । लुटन सुरु भयो । मुटु चिसो भयो । के आपत आयलाग्यो बचाऊ हे प्रभु ! जस्ता भक्ति भावहरू मनभित्र जागृत हुन थाले ।
पछिल्लो सिटमा सल्यान सुइकोटका शुभराम घर्ती हुनुहुँदो रहेछ । लामो समय मुम्बइमा रोजगारी गरेर घर फर्किनु भएको रहेछ । उहाँले कमाएको केही नगद कम्मरमा बाँध्नु भएको रहेछ । जहाँ नगद थियो त्यही लुटेराले हात हालेपछि उहाँले प्रतिकार गर्नुभयो । अनि लुटेराले उहाँको पेटमा खुकुरी प्रहरा गर्यो । घाइते हुनुभयो । त्यसपछि सजिलोसँग लुट्न थाले ।
एकएक गरेर सबैले आत्मसमर्पण गर्न थाले । पर्स र मोबाइलहरू एक जनाले थुप्ने एक जनाले ब्यागमा हाल्ने क्रम सुरुभयो । सबैको होश हवास उड्यो । कमाएको पैसा जोगाउन धेरै जनाले जुत्ताको मुनि कोच्ने प्रयास गरे तर बाँकी छोडेनन् ।
त्यो दृश्यपछि मेरो पनि पालो आउनेमा म ढुक्क थिएँ । छ र सात हजार नगद, मोबाइल र एक ल्यापटप थियो म सँग । कसरी बचाउने भन्ने तनाव सृजना भयो । अध्यारोमा बिस्तारै पर्सबाट नगद झिके र मोबाइल र सीटको मुनितिर कोचे ।
खाली पर्स पकेटमै राखें । पर्स नै नभएको खाली भएपछि आक्रमण हुनसक्नेतर्फ सचेत भएर गए पर्स मात्रै जावस भन्ने निधो गरे । अब चिन्ता भयो कसरी ल्यापटप बचाउने रु छेउमै एक जना बिरामी बाजे हुनुहुन्थ्यो । ल्यापटप भएको व्याग उहाँको सिरानी बनाइदिए । बाजे त्यसकै आडमा सुत्नुभयो । उमेर ७० वर्ष नाघेको त्यसमै बिरामी भएपछि दुख नदेलान भन्ने लाग्यो ।
चालकको नजिकै बसेको म मेरो पालो आयो । उठ भन्यो - म उठे । सुरुमै हात पकेटमा हाल्यो पर्स निकाल्यो र झोलामा हाल्यो । मोबाइल खै ? उसले भन्यो । नम्र स्वरमा मोबाइल त मेरो छैन । किन्न सकिएको छैन । पैसा भएपछि किन्ने हो भन्ने जवाफ दिएँ ।
समय घर्कीसकेको थियो । उनीहरू पनि आत्तिएका थिए । अनि छिटोछिटो ढोकाबाट निस्किए । अगाडि नबढ्नु है भन्दै जङ्गलतिर छिरे ।
रेडियोबाट कहिलेकाँहि काठमाडौं जाने बस लुटियो रे भनेको समाचार सुनिन्थ्यो । कसरी किन लुट्छन् होला ? यात्रुको अवस्था कस्तो भयो होला ? कसरी सामना गरे होलान भन्ने प्रश्न खेल्थ्यो । त्यसको प्रत्यक्ष भोगाइ भयो । ठूलो अप्ठ्यारोबाट बचेको महसुस भयो ।
केही बेरमा अस्थायी प्रहरी चौकी पुग्यौ । डाँडोमा पुगेपछि मोबाइल फोनले पनि काम गर्न थाल्यो । सम्भव हुनेजति सबै ठाउँमा जानकारी दियौं । मैले फेसबुक स्टाटसमार्फत् लुटराहरूले तीन वटा बस लुटेको जानकारी गराएँ । २० लाखभन्दा बढी नगद र ५२ वटा लुटेको विवरण सङ्कलन भयो । घाइतेलाई उपचारको बन्दोस्त मिलाइ चौरजहारी अस्पताल पुर्यौं ।
अन्त्यमा, मानव पनि थरीथरीका छन् । अर्काको उन्नती र प्रगतिमा डाहा गर्छन् । अर्कालाई लुटेर आफू समुन्नत देखिने चाहा राख्छन् । श्रीमान् छोराछोरी छोडेर श्रम र पसिनासँग साटेका दुई र चार हजार रुपैयाँमा आँखा लगाउने निच र घृणित सोच राख्नछन् । प्रपञ्च रचेर घिनलाग्दो नालायकपन प्रदर्शन गर्छन् । यसले मानवता हराउँदै गएको आभास दिलाउँछ ।
मानवतासहितको सभ्य र न्यायपूर्ण समाज कहिले बन्ला रु अर्कालाई दुस्ख दिने र आफू समुन्नत देखिने घृणित र निच सोचको डङ्गुरलाई मिल्काएमा मात्र मानव जीवन सुरक्षित र हार्दिकताले भरिएको बन्न सक्छ ।
- (लेखक ढकाल, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)