chrj chrj
chrj chrj

बागेश्वरी मन्दिरमा दुईसय बढीले जिब्रो छेडे

शनिबार, असोज २६, २०८१

नेपालगन्ज । दसैँको अवसरमा नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्नेहरु बढ्दै गएका छन् । 

ward1

भाकल गरेकाहरुको भाकल पुरा भएपछि र धामी झाँक्रिको काम गर्नेहरुले हरेक वर्षको बडादसैँको नवमी र चैते दसैँको नवमीको दिनमा जिब्रो छेड्ने बागेश्वरी मन्दिरमा आउने परम्परा रहिआएको छ । 

हरेक वर्ष करिव २०० बढी नेपाली र भारतीय हिन्दु धर्मावलम्बीले जिब्रो छेडेर मन्दिरमा दर्शन गर्न आउनेगरेको बागेश्वरी मन्दीरका मूल पुरोहित चन्द्रनाथ योगीले बताउनुभयो । 

उहाँले नवमीका दिन नेपाल र भारत दुबै देशका भक्तहरुले आफ्नो जिब्रो काटेर चढाउने, जिब्रो र छातिमा त्रिशुल रोपेर दिनभरी मन्दिरको परिक्रमा गर्ने लगायतका कामहरु गरेको बताउनुभयो । 

भारत बाबागन्जका रामनरेश वर्माले आफुले चैते दसैँको नवमी र दसैँको नवमीमा धेरै पटक जिब्रो छेडेर बागेश्वरी देवीको दर्शन गरेको बताउनुभयो । उहाँले यहाँ आएर गरेको भाकल धेरै पटक पुरा भएकाले आफूले खुसी भएर जिब्रो छेडेको बताउनुभयो । 

बागेश्वरी मन्दिरमा भाकल गर्न आएका भक्तहरुले रामनवमी र बडादसैँको नवमीमा गरी वर्षमा दुई पटक जिब्रो छेडेर दर्शन गर्ने गरेका छन् । यसोगर्दा आफुलाई आनन्द महशुस हुनेगरेको अधिकांशको भनाइ छ । 

बाँके कम्दीका नरेश लोनियाले पनि धेरै पटक जिब्रो छेडेर दर्शन गर्न आएको जनाउँदै यस्तो गर्ने कम्दीकै मात्र पनि धेरैजना रहेको बताउनुभयो । उहाँले जिब्रो छेडेर दर्शन गर्न आउनेक्रम धेरै पहिलेदेखिको भएको बताउनुभयो । 

नेपालगन्जका अगुवा नन्दलाल वैश्यका अनुसार बडादसैँ र चैतेदसैंँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने धेरै पुरानो चलन रहेका जनाउँदै निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख कष्ट नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास छ ।

सोही मान्यताका कारण हरेक वर्ष नेपाल र भारत दुबै देशका धेरै जनाले जिब्रो छेड्ने गरेको पाइएको वैश्यले बताउनुभयो । संस्कृतिविद डा. राजकुमार सुवेदीले बागेश्वरी मन्दिरमा भक्तजनहरुले निराहर ब्रत बसेर माता बागेश्वरीलाई खुसी बनाउन आफ्नै रगत चढाउने वा प्रष्ट बोली नफुटेको वालकको बोली फुटाउने उद्देश्यले जिब्रो छेडेर देवीको पूजाआजा गर्ने चलन धेरै पहिलेदेखि रहेको बताउनुभयो । -गोरखापत्रबाट

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्