सहिद पुर्ण प्रसाद शर्माको स्मृतिमा सञ्चालित विभिन्न प्रतियोगिता सम्पन्न 

खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि चौरजहारी ७ को हातमा
बुधबार, असोज ३०, २०८१

रुकुम पश्चिम । सहिद पुर्ण प्रसाद शर्माको २६ औं स्मृतिमा सञ्चालन गरिएको विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । 

चौरजहारी नगरपालिका ९ मा सञ्चालन भएको सहिद पुर्ण प्रसाद शर्मा स्मृति कप अन्तर्गतको खुल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधि चौरजहारी नगरपालिका वडा नम्वर ७ ले हात पारेको छ ।

गत शुक्रबारबाट वडा नम्वर ९ को कोटमा सुरु भएको प्रतियोगितामा सानीभेरी गाउँपालिका वडा नम्वर ३ ले दोश्रो, सल्यानको कुमाख गाउँपालिका वडा नम्वर ५ ले तृतीय स्थान र चौरजहारी नगरपालिका वडा नम्वर ५ खहरेले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार चौरजहारी नगरपालिका वडा नम्वर ७ का कमल सुनारले प्राप्त गरेको भलिवल खेल संचालक संयोजक पवन शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा रुकुम पश्चिम र सल्यान जिल्लाको समेत गरी विभिन्न १३ वटा समुहले भाग लिएका थिए । 

भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद रु. ६० हजारका साथ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दोश्रो हुने समुहले रु ४० हजार नगद,  कप, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यसैगरी तृतीय स्थान हाँसिल गर्ने समुहले रु २० हजार नगद, मेडल, प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्ने समुहले नगद रु १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल आयोजक समितिका संयोजक एवम् सहिद पुर्णप्रसाद शर्माका जेठा छोरा राजेन्द्र शर्माले जानकारी दिनुभयो ।

स्मृति कपको अवसरमा खुल्ला नृत्य, लोक नृत्य, र स्थानीय सिंगारु नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।

खेलकुद व्यवस्थापक महेश स्वर्णकारका अनुसार सिंगारु नाच प्रतियोगितामा स्थानीय कालिका महिला आमा समुह चौरजहारी नगरपालिका वडा नम्वर ९ प्रथम र चौरजहारी नगरपालिका वडा नम्वर ३ स्यालखोलाले दितिय स्थान हात पारेका छन् ।

खुला नृत्य प्रतियोगितामा आँचल शर्मा प्रथम र खुला लोक नृत्यमा चौरजहारी नगरपालिका वडा नम्वर ५ खहरेकी प्रतिमा राणले प्रथम स्थान हाँसिल गरेको आयोजकले जानकारी दिएको छ । 

चौरजहारी नगरपालिका वडा नम्वर ९ निवासी सहिद पुर्ण प्रसाद शर्माको तत्कालिन जनयुद्धको बेला २०५५ साल असोज २६ गते हत्या गरिएको थियो ।

उहाँको सम्मान र संझनामा पारिवारले पहिलो पटक सहिद पुर्ण प्रसाद शर्मा स्मृति कप, खुल्ला वडा स्तारिय पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ को आयोजना गरिएको हो ।

प्रतियोगिता सञ्चालनको लागि विभिन्न व्यक्ति तथा निकायबाट दुई लाख २४ हजार ३०५ रुपियाँ सहयोग प्राप्त भएको थियो ।  सहिद परिवारका तर्फबाट ६० हजार, विभिन्न सहयोगी दाताहरुबाट एक लाख २७ हजार २०५, भलिबल खेल दर्ता शुल्कबाट ३३ हजार र नृत्य प्रतियोगिताको सहभागि शुल्क वापत चार हजार एक सय रुपियाँ प्राप्त भएको आयोजकले जानकारी दिएको छ । 

यस क्रममा पुरस्कार तथा व्यवस्थापनको क्रममा एक लाख ९९ हजार दुई सय रुपिँया खर्च भएको छ । भलिबलको पुरस्कार एक लाख ३१ हजार, साँस्कृतिक कार्यक्रम तर्फको पुरस्कार २० हजार, व्यवस्थापन खर्च १३ हजार सात सय, कप मेडल, छपाई तथा जेनेरेटर खर्च ३१ हजार पाँच सय र टेन्ट भाडाामा तीन हजार रुपियाँ खर्च भएको बताईएको छ । 

कार्यक्रमबाट २५ हजार १०५ रुपियाँ बचत भएको छ । उक्त रकम आगामी वर्ष सञ्चालन गरिने दोश्रो सहिद पुर्ण प्रसाद शर्मा स्मृति कप र स्थानीय कालिका मन्दिर निर्माण समितिलाई उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्