विद्युत प्राधिकरणद्वारा ‘बाँफिकोट फिडर’ जडान

विद्युत लाईनमा हुने प्राविधिक खराबी पत्ता लगाउन र समाधान गर्न सहज हुने
बिहीबार, कात्तिक १, २०८१

रुकुम पश्चिम । विद्युत लाईनमा हुने खराबी तत्काल पत्ता लगाएर समस्या समाधानमा सहजता ल्याउन रुकुम पश्चिममा नयाँ फिडर जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले नयाँ ‘बाँफिकोट फिडर’ जडान गरेको हो ।

वितरण केन्द्रका प्रमुख ई. बिरमान रास्कोटीका अनुसार मुसिकोट नगरपालिका -३ धैरेनीचौरमा रहेको ३३/११ केभी सवस्टेशनबाट सञ्चालित सानीभेरी फिडरबाट मात्र यसअघि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका, आठबिसकोट नगरपालिका र डोल्पा जिल्लामा समेत विद्युत सेवा सञ्चालन गरिएको थियो । 

हालै वितरण केन्द्रले धैरेनीचौर सवस्टेशनबाट घ्युखोलासम्म करिब एक हजार आठ सय मिटर नयाँ लाईन बिस्तार गरेर सानीभेरी, बाँफिकोट र आठबिसकोटको लाईन छुट्याएको छ । वितरण केन्द्र प्रमुख ई. रास्कोटीले अव सानीभेरी फिडरबाट सानीभेरी, आठबिसकोट हुँदै डोल्पातर्फ जाने र बाँफिकोट फिडरबाट बाँफिकोट हुँदै डोल्पा जाने लाईन अलग बनाईएको बताउनुभयो । 

फिडर अलग बनाईएपछि प्राविधिक कारणले हुने लाईन खराबी पत्ता लगाउन सहन हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अब बाँफिकोट गाउँपालिका तिर हुने लाईनको समस्याले सानीभेरी र आठबिसकोट तर्फ असर गर्दैन ।’ फिडर थप गर्नले कुन क्षेत्रमा लाईनमा फल्ट आयो भनेर पत्ता लगाउन र समस्या समाधान गर्न समेत सघाउ पुग्ने रास्कोटीको भनाई छ ।

नयाँ फिडर जडान पश्चात लाईन थप भरपर्दो हुने भएकोले यसलाई विद्युत सेवामा थप एक नयाँ आयामको रुपमा लिईएको वितरण केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्