चाडवाडको बेला किसानलाई धान ढल्याउने चटारो (फोटो फिचर)

शनिबार, कात्तिक ३, २०८१

रुकुम पश्चिमका किसानहरुलाई यतिबेला धान खेती ढल्याउने चटारो छ । दसैँ, तिहार लगायतका पर्वहरु सुरु भएसँगै यहाँका किसानहरुलाई पाकेको धान काट्ने, ढल्याउने कामको चाप सुरु भएको छ । 

मुसिकोट नगरपालिका –१३ का किसान मैमा खत्रीले सधै झै यस वर्षपनि दसैँ तिहारकै बेला धान पाकेकोले धान ढल्याउने काम चलिरहेको बताउनुभयो । धान काट्ने, सुकाउने, धान चुट्ने, दाँई हाल्ने काममा व्यस्त भएको उहाँले जानकारी दिनुभयो । असारमा रोपेको धान पाकेको र भित्र्याउने उपर्युक्त समयमा चाडवाड समेत आएकोले खेतीपातीकै काम प्राथमिकतामा परेको खत्रीले जनाउनुभयो । 

Dhan_Rukum_Raju-(3)-1729317214.jpgदसैँ तिहार मनाउन घर आएका परदेशीहरु, विद्यार्थी तथा परिवारका अन्य सदस्यहरु यतिबेला खेतबारीमै जमघट हुने गरेका छन् । पानी पर्न रोकिएकोले पनि धान ढल्याउने राम्रो मौका जुरेको किसानहरुको भनाई छ ।

चौरजहारी नगरपालिका –५ का किसान गणेश शर्माले बिहानदेखि बेलुकासम्म धानबारीमै व्यस्त हुनुपरेको जनाउनुभयो । खेतमा पाकेको धान काटेर सुकाउने देखि धान र पराल अलग गराउने कामको चापले दिनभर खेतमै बित्ने गरेको उहाँले बताउनुभयो । दसैँको केहि दिन अघिबाट वर्षायाम रोकिएकोले किसानहरुलाई असाध्यै सहज भएको उहाँको भनाई छ । 

Dhan_Rukum_Raju-(5)-1729317294.jpgजिल्लाको चौरजहारी नगरपालिकाको खोलागाउँ, जहारीखोला फाँट, मुसीकोट नगरपालिकाको माछिमी, छिवाङजीउला, आठबिसकोट नगरपालिकाको राडि, चौर, त्रिवेणी गाउँपालिकाको पेदीखेत, पेउघा जीउला, सानीभेरी गाउँपालिकाको पेदीबजार, चाईनाबगर, बाँफिकोट गाउँपालिकाको छिनखेत लगायतका क्षेत्रमा बढी मात्रामा धान खेती हुने गर्दछ । यी सबै क्षेत्रमा धान पाकेकोले काट्ने, ढल्याउने र धान भित्र्याउने काममा यहाँका किसानहरु व्यस्त रहेका छन् । 

अधिकांस स्थानमा किसानहरु गोरुको प्रयोग गरेर दाँइ हाल्ने, किसानहरुले नै धान चुट्ने लगायतका तरिकाले धान भित्र्याउने गरिरहेका छन् भने कतिपय स्थानमा थ्रेसर मेसिनमार्फत धान भित्र्याउने चलन बढिरहेको छ ।

Dhan_Rukum_Raju-(2)-1729317789.jpgरुकुम पश्चिममा कुल तीन हजार ४८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यसबाट करिब १२ हजार ९९ मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्याङक कार्यालयसँग रहेको छ । जिल्लामा खुमल ४ र ८, राधा ४, सावित्री, बिन्देश्वरी, मन्सुली लगायतका जातको धान खेती हुने गर्दछ । मुसीकोटको सोलाबाङ र चौरजहारीको जहारीखोलामा चैते धानको खेती समेत हुने गरेको छ । 

Dhan_Rukum_Raju-(6)-1729317316.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्