रुकुम पुगेका रास्वपाका प्रमुख सचेतक परियार भन्छन् - ‘अनुसन्धानमा सघाउँछौ भन्दाभन्दै रबिलाई पक्राउ गरियो’ 

शनिबार, कात्तिक ३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको चौथो ठुलो दलको सभापतिलाई सरकारले गैरन्यायिक रुपमा पक्राउ गरेको बताउनभएको छ । कानुनलाई सम्मान गर्छौ र अनुसन्धानमा सघाउँछौँ भन्दाभन्दै व्यक्ति र पार्टीका पछि हात धोएर लागेको घटना अकल्पनीय र खेदजन्य भएको उहाँको भनाई छ ।   

रास्वपा रुकुमपश्चिमको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्न मुसीकोट पुग्नुभएका परियारले पत्रकार भेटघाटको क्रममा सरकारको रवैया देखाएको तर पार्टी नडराएको स्पष्ट बताउनुभयो । सहकारी ठगी प्रकरणमा शुक्रबार पार्टी सभापति पक्राउ परेको सन्दर्भमा उहाँले सरकारले सभापति रवि लामिछानेलाई पक्राउ गरेर गल्ती गरेको बताउनुभयो ।

उहाँले सभापतिमाथि सरकारले धरपकड गरेकोले जनतालाई के सम्म गर्ला भन्ने डर पैदा भएको समेत बताउनुभयो । सरकार सर्वसत्तावादमा गएको उहाँको टिप्पणी रहेको छ ।सरकारले राजनीतिक प्रतिशोध साँध्नकै लागि सभापति लामिछानेलाई गैर न्यायिक रूपमा पक्राउ गरेको परियारले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यो शक्तिको दुरुपयोग हो, कुनै व्यक्ति तथा संस्था विशेषमाथि कसरी प्रतिशोध साँध्न मिल्दैन । एउटा संवैधानिक सरकार, एउटा लोकतान्त्रिक भनिएको सरकार कुन हदसम्मको सर्वसत्तावादमा जाँदो रहेछ भन्ने प्रष्ट भएको छ ।’ 

सरकारको यो कदमको कडा प्रतिवाद गर्ने समेत उहाँले बताउनुभयो । साङकेतिक तथा प्रदर्शन लगायतका गतिविधि मार्फत सरकारको यो कदमको प्रतिवाद गर्ने उहाँको भनाई छ । तर कार्यकर्तालाई उचाल्ने, प्रतिवादलाई हिंस्रक बनाउने, हुलदङगा हुन सक्नेतर्फ भने पार्टी सजग रहेको र कुनै पनि कार्यकर्तालाई हुल हुज्जत नगर्न अनुरोध गरेको उहाँले जनाउनुभयो ।

सरकारले यसैगरी अन्याय थोपार्दै सत्ताको उन्माद बढाएमा एउटा राजनीतिक पार्टीका लागि सडक र जनता भन्दा ठुलो शक्ति केही पनि नहुने बताउनुहुँदै उहाँले सडक संघर्षमा आउन समेत बाध्य हुने जनाउनुभयो । उहाँले मुद्दा मिल्ने अवस्थामा विभिन्न राजनीतिक दलहरूसँग पार्टीले सहकार्य गर्ने समेत बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्