Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देउसीबाट उठेको रकम सूचना र प्रविधिमैत्री शिक्षण सिकाईमा खर्च गरिने

२०७८ कार्तिक २२
tribeni2

रुकुम पश्चिम / यहाँको एक सामुदायीक बिद्यालयले तिहारको अवसरमा देउसी खेलेर जम्मा गरेको रकम सूचना र प्रविधिमैत्री शिक्षण सिकाईको लागि खर्च गर्ने भएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ९ मगरराङजाको शिव आधारभूत बिद्यालयले देउसी भैलो खेलेर जम्मा भएको रकम बिद्यालयको सूचना र प्रविधिमैत्री शिक्षण सिकाई कार्यमा खर्च गर्ने भएको हो ।

बिद्यालयले तिहारको अवसरमा कार्तिक १७ र १८ गते दुई दिन स्थानीय स्तरमा देउसी भैलो खेलेको थियो । उक्त कार्यबाट जम्मा भएको ६० हजार ३ सय ३० रुपैया सूचना र प्रविधिमैत्री शिक्षण सिकाईको सुरुवातीको लागि खर्च गर्ने निर्णय भएको शिक्षक राम प्रसाद केसीले बताउनुभयो । शिक्षक केसीका अनुसार शिक्षक स्टाफहरुको बैठकले उक्त छलफल गरेको छ ।

आउदो शनिवार आम भेला राखेर उक्त निर्णय सदर गरिने बताईएको छ । शैक्षिक गुणस्तर बढाउन आर्थिक समस्या भएकोले त्यसको निवारण गर्नलाई देउसी भैलो खेलेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपा दिपा खड्काले बताउनुभयो ।

देउसी भैलो कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपा खड्का, पूर्व अध्यक्ष टेकबहादुर कुवर, प्रधानाध्यापक बिर्ख बहादुर खड्का, फूलबारी बाल क्लकका अध्यक्ष राधा कुवर लगायत शिक्षक, बिद्यार्थी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

८५ जना बिद्यार्थी रहेको यस बिद्यालयमा शिक्षकहरुको संख्या भने अभाव छ । तीन जना शिक्षक र एक जना बाल विकास सहजकर्ता मात्र रहेको प्रधानाध्यापक बिर्खबहादुर खड्काले बताउनुभयो ।

शिव आधारभूत बिद्यालय शैक्षिक गुणस्तरका हिसाबले अब्बल बिद्यालय हो । प्रारम्भिक बाल विकास देखि कक्षा ५ सम्म सञ्चालित यस बिद्यालयमा निजि बिद्यालय झै हरेक बिहान र साझ प्रार्थना र बिद्यालयको आफ्नै गित गाईन्छ । यसका साथै बिद्यार्थीहरुको नियमित सरसफाई जाँच र अतिरिक्त क्रियाकलाप गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्