रुकुम पुगेका मुख्यमन्त्रीले पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै महासंघद्वारा आपत्ती

मंगलबार, कात्तिक ६, २०८१

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले रुकुम पश्चिममा भएको एक कार्यक्रममा पत्रकारलाई दुव्र्यबहार गरेको भन्दै आपत्ती जनाएको छ ।

मंगलबार कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सभाहलमा भएको प्रदेश बिशेष कार्यक्रम तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकार बलेन्द्र ओलीलाई मुख्यमन्त्री कँडेलले दुव्र्यबहार गरेको भन्दै महासंघले विज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।

महासंघका जिल्ला सचिव हिरा परियारले एक विज्ञप्ति मार्फत कार्यक्रमको फोटो र भिडियो खिचिरहेको बेला राष्ट्रिय समाचार समिति (रासस) र कखरा अनलाईनमा कार्यरत पत्रकार बलेन्द्र ओलीलाई मुख्यमन्त्री कँडेलले भिडियो नखिच्नु र बाहिर निस्कनु भनेर दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउनुभएको छ ।

उहाँले मुख्यमन्त्रीबाटै भएको यस कार्यले पत्रकारले निर्वाध रुपमा समाचार संकलन गर्न पाउने अधिकार सरकारले कुल्चिन खोजेको प्रष्ट भएको भन्दै यस खाले गतिविधिको निन्दा गर्नुभएको छ ।

महासंघले पत्रकारलाई निर्धक्क र निर्वाधपूर्वक सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउँदै संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको ख्याल गर्न समेत ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्