पारदर्शी, भेदभावरहित र विधिको विकास लागु गरौं : मुख्यमन्त्री कँडेल

'काँग्रेससँगको सहकार्य आवश्यकताको उपज हो'
मंगलबार, कात्तिक ६, २०८१

रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफूले पारदर्शी, भेदभावरहित र विधिको विकास चाहेको बताउनुभएको छ । उहाँले विधि मिचेर गलत बाटोबाट फाईदा लिनेहरुलाई किनारा लगाउन आवश्यक रहेको समेत जनाउनुभएको छ । 

मङगलबार नेकपा एमाले रुकुम पश्चिमको कार्यालयमा आयोजित पार्टीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्नुहँदै मुख्यमन्त्री कँडेलले आफ्नो कार्यकालमा राम्रो कामको लागि प्रयास गर्ने, नसकिएमा नराम्रो हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । 

एमाले पोलिटव्युरो सदस्य समेत रहनु भएका कँडेलले शान्ती प्रक्रियापछि निरन्तर सरकारमा रहेको नेकपा माओवादी केन्द्र अहिले सडकमा पुगेको र उसले सत्ता र शक्तिको हतियार गुमाएपछि छटपटि सुरु हुन थालेको बताउनुभयो । 

जिल्लामा अनुदानको दुरुपयोग, विकासका योजना अलपत्र, कृषि र सहकारीको अनुदान लथालिंग भएको उल्लेख गर्नुहुँदै उहाँले विगतमा रुकुम पश्चिममा भएको भेदभाव, पक्षपात, हिनामिना अब नटिक्ने दाबी गर्नुभयो । 

बैठकमा उहाँले दल बलियो बनाएर मात्र विकास र निर्माणको मुद्धा उठाउन तर्फ लाग्नुपर्ने जनाउनुभयो । राजनीतिक अवस्था बदलिएको बताउनुहुँदै उहाँले अब जनताको अवस्था बदल्ने जिम्मेवारी एमालेकै काँधमा आएको बताउनुभयो । उहाँले जनताको बिचमा गएर कुरा राख्न सुरु गरेमा पार्टी निर्माणको आधार बन्ने बताउनुभयो । 
नेपाली काँग्रेससँगको सत्ता सहकार्यबारे उहाँले आवश्यकताको उपज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिद्धान्त, विचार र गन्तव्य मिलेर नेपाली काँग्रेससँग सहकार्य भएको हैन । तर ऐतिहाँसिक अवस्थाहरुमा विगतमा मिलेर परिवर्तन ल्याएका उदाहरण छन् ।’ 

अस्थिर सरकारको कारण जनतामा उत्पन्न भएको निराशालाई आशामा परिणत गर्न, अस्थिरतालाई स्थिरतामा लैजान, अर्थतन्त्र सुदृढ गर्न, विकास र निर्माणको काम अगाडि बढाउन काँग्रेससँग सहकार्य भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने लगायतका राजनीतिक ज्योतिष कहलिनेहरुले सककार ढल्ने फगत कुरा ओकल्ने गरेको जनाउनुभयो । 

उहाँले कमजोरको साहरा एकता मात्रै भएकोले पार्टीभित्र आन्तरिक एकता आवश्यक रहेको बताउनुभयो । पदमा भएपनि नभएपनि जनता र कार्यकर्ताले नेता मान्ने आधार बनाउनुपर्ने उहाँको भनाई रहेको छ । 

नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा बसेको तेस्रो जिल्ला कमिटी बैठकमा प्रदेश सभा सदस्य तुलसा मल्ल लगायत जिल्ला कमिटीका पदाधिकारीहरु तथा सदस्यहरु, पालिकाका प्रतिनिधिहरु, अगुवा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रममा नगर तथा गाउँपालिका अध्यक्षहरुले पाटीको अवस्था र विकास योजनाको अवस्था बारेमा जानकारी समेत गराउनु भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्