सोसल मिडिया
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सञ्चारमैत्री योजना र कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सञ्चार उपकरणको बिमा, पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बिमा र लोक कल्याणकारी विज्ञापनको रकम बढाएको बताउनुभयो ।
पत्रकार भेटघाटमा उहाँले साधन र श्रोतले भरिपूर्ण कर्णाली बनाउन सकारात्मक पहल र प्रयास गरिरहेको जानकारी दिनुभयो । जनभावना अनुसार निर्वाह गर्नुपर्ने भूमिकाको लागि आफू सदा तयार गरेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री कँडेलले दल र सरकार मिलेर जानुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्रीले विगतमा अनुदानका नाममा कृषि क्षेत्रमा बढी लगानी भएको तर उपलब्धि हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘करोडौको लगानी भएका उद्योगहरु बन्द अवस्थामा छन् । उपकरणहरु लथालिंग बनेका छन् ।’ बन्द उद्योगहरुको सञ्चालन कसरी गर्ने भन्ने बारेमा अध्ययन गर्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा उहाँले भूकम्प प्रभावित जिल्लाहरु जाजरकोट, रुकुम पश्चिम र सल्यानको लागि यसै वर्ष ५० करोड रकम खर्च गरेर स्वास्थ्य र शिक्षाका संरचना बनाउन थालेको जनाउनुभयो ।
उहाँले कोहि व्यक्ति र दल बिशेषको कमजोरीको कारण वर्तमान व्यवस्थालाई कमजोर भन्न नमिल्ने उल्लेख गर्नुभयो । कर्णालीको समृद्धिका लागि सबै तह र तप्काका व्यक्तिहरुले होसियारी तथा सजक रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले समयकै काम र बजेट खर्च गरेर सरकारी योजनालाई परिणाममुखी बनाउन मातहतका कार्यालयलाई निर्देशन गरेको जानकारी दिनुभयो । उहाँले समग्र वस्तुस्थिति बुझेर गाउँमा आउने विकासका योजनाहरुमा अपनत्व लिन रहेको बताउनुभयो । भूकम्पपीडितहरुको अवस्था र पुर्निर्माणको विषयमा पटक पटक संघीय सरकार समक्ष आफूले संवाद गरिरहेको उहाँले जनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसीले जिल्लामा सञ्चारकर्मी र सञ्चार माध्यामहरुको अवस्था बारेमा जानकारी गराउनुभएको थियो । मिडिया हाउस र मिडियाकर्मीहरुको हितका लागि दिर्घकालिन योजनाहरु ल्याउन आवश्यक रहेको बारेमा अध्यक्ष केसीले जोड दिनुभएको थियो ।
उहाँले कोरोना महामारी, भूकम्प लगायतका विपदको सामना गरिरहेको सञ्चार जगतको समग्र हितका बारेमा तीनै तहका सरकारले गम्भिर भएर सोच्नुपर्ने जनाउनुभयो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रुकुम शाखाका सचिव हिरा परियारले गर्नुभएको थियो ।