आठबिसकोटको खदीमा बजारको माला प्रतिबन्ध, सयपत्री र गुर्धौलीको माला प्रयोग गर्न अनुरोध

बुधबार, कात्तिक ७, २०८१

रुकुम पश्चिमको एक वडाले तिहार र छठ पर्वमा बजारको माला खरिद तथा बिक्रि गर्न प्रतिबन्ध लगाएको छ । 

आठबिसकोट नगरपालिका वडा नम्वर ३ ले तिहार र छठ पर्वमा प्रयोग हुने मालाको लागि स्थानीय उत्पादन प्रयोग गर्न आह्वान गरेको हो । 

वडा अध्यक्ष केशरमान विकले वडावासी र स्थानीय व्यापारीहरुलाई हिन्दुहरुको महान चाड तिहार तथा छठ पर्वको अवसरमा बजारको माला खरिद तथा बेचबिखन गर्न मनाहि गरिएको जानकारी दिनुभयो । 

उहाँले बजारमा आयातित प्लाष्टिकको मालाको सट्टा स्थानीय फूल तथा उत्पादनको माला प्रयोग गर्न अनुरोध गरिएको बताउनुभयो । वडा अध्यक्ष बिकले भन्नुभयो, ‘बजारको प्लाष्टिकजन्य माला किन्न र बेच्न मनाहि गरेका छौ, त्यसको सट्टा स्थानीय रुपमा उत्पादन गरिएको सयपत्री र गुर्धौलीको माला प्रयोगका लागि सार्वजनिक सूचना जारी गरेका छौ ।’ 

वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लास्टिकजन्य फूलमालाको उत्पादन, बिक्रीवितरण, ओसारपसार र उपभोग नगर्न वडाले अनुरोध गरेको छ । वातावरणमैत्री र स्थानीय उत्पादनलाई प्रवर्धन गर्नसमेत टेवा पुग्ने भएकाले प्राकृतिक रूपमा उत्पादन भएको फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्न खोजेको वडाले जनाएको छ ।

तिहारलगायतका चाडपर्वमा प्लास्टिकका मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लास्टिकका मालाको प्रयोग नगर्न अनुरोध गरिएको हो । 

वडा अध्यक्ष विकले चाडपर्वलाई भड्किलो र खर्चिलो नबनाउन समेत वडावासीमा अनुरोध गरिएको जनाउनुभयो । बजारमा आयातित माला प्रयोग नगरेर स्थानीय उत्पादनलाई वेवास्ता गरिने विगतको अवस्था अन्त्य गर्न चाहेको उल्लेख गर्नुभयो ।

स्थानीय उत्पादन स्थानीयस्तरमै खपत गर्न यस खालको कार्य गरिएको वडाअध्यक्ष विकले जनाउनुभयो । गाउँमा उत्पादन भएका फूलह? त्यसै खेर जाने, बजारको प्लाष्टिकमा खर्च गर्ने चलन अन्त्य गर्न यसो गरिएको उहाँले प्रष्ट पार्नुभयो ।  

यस अघि उक्त वडामा मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्रि तथा प्रयोगमा प्रतिबन्ध छ । यसका साथै बाल विवाह रोकथामका लागि विवाहको निमन्त्रणा कार्यमा बेहुला बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय गरेर वडाले उदाहरिण कार्य गरेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्