सोसल मिडिया
तीन वर्ष अघि सानीभेरी गाउँपालिकाको वडा नम्वर ६ मा विद्युतको केन्द्रिय लाईन विस्तारका लागि सुरु भएको योजना अलपत्र बनेको छ । ठेकेदारको लापरबाहि र सरोकारवाला निकाय कानमा तेल हालेर बस्दा यहाँका सर्वसाधारणले अझैपनि अध्याँरोमै दैनिकी गुजार्नु परेको छ ।
सानीभेरी गाउँपालिकाको वडा नम्वर ३ गरायला हुुँदै वडा नम्वर ६ को दुलिसम्म केन्द्रिय विद्युत लाईन विस्तार गर्ने भनेर तीन वर्ष पहिला ठेक्का भएको थियो । तर, उक्त काम दिगो र समयमै नहुँदा विद्युतीकरणको योजना नै अलपत्र परेको छ ।
स्थानीय दिलबहादुर केसीले ठेकेदारको कमजोरीको कारण जनता अध्याँरोमा बस्नु परेको बताउनुभयो । ‘न काम गतिलो भयो, न समयमै काम पुरा भयो,’ उहाँले भन्नुभयो, ‘जनताको नाममा आएको बजेट दुरुपयोग भयो, हामीले उज्यालो बाल्ल पाएनौ ।’
उहाँका अनुसार कतै पोल गाडेर छाडेका छन्, आधाआधि त तार पनि तानेका छन् । तर अधिकांश पोलहर ढलिसकेका छन् भने तारहरु काटिएका छन्, चोरी भएका छन् । बाटोमै ढलेका पोल र लत्रिएका तारहरु बार बन्देज गर्ने र कपडा सुकाउने काममा प्रयोग हुन थालेका छन् ।
उज्यालोको आश्वासन देखाएर जनताको विकासको नाममा आएको बजेट दुरुपयोग हुनु अपराध भएको यहाँका स्थानीयले जनाएका छन् । सरकारले लगानी गरेको यो बजेट बालुवामा पानी सरह भएको छ ।
सानीभेरी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष पहलसिंह घर्तीमगरले अहिलेको जमानामा ईन्टरनेट र विद्युत सेवा अत्यावश्यक भएतापनि यहाँका जनताले उपयोग गर्न नपाएको बताउनुभयो । केन्द्रिय लाईन आउने आशा पालेर बसेका यहाँका करिब तीन सय घरधुरी सर्वसाधारणहरु अध्याँरोमै बस्न बाध्य भएको उहाँको भनाई छ ।
दुई लाईनमा ठेक्का लिएका ठेकेदारहरुले पोल राम्रोसँग नगाडेको, सपोर्ट नदिएको, तारहरु राम्रोसँग नतानेको कारण अलपत्र रहेको उहाँले जानकारी दिनुभयो । यस बिषयमा सम्बन्धित ठेकेदार र विद्युत प्राधिकरणको कार्यालयसँग बारम्बार समस्या समाधान गर्न पहल गरिरहको वडा अध्यक्ष घर्तीले जनाउनुभयो ।
पोलहरु हावा लाग्दा समेत ढल्ने अवस्थाका रहेका छन् भने तारहरु लत्रिएर सडकमै पुगेका छन् । कतिपयले तार काटेर कपडा समेत सुकाउन थालेका छन् । अर्मा सिम्ली गरायला हुँदै दुली जोड्ने सडकको कारण पनि पोल र तार लथालिङग भएका छन् ।
यस बिषयमा नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्दका प्रमुख ई. बिरमान रास्कोटीले गुनासो आएकोले आफू स्थलगत अध्ययनमा थालेको बताउनुभयो । उहाँले विगतमा केहि योजना अपुरो रहेको सुनिएको तर अलपत्र तथा लथालिङ्ग भएको गुनासो हालै मात्र आएकोले कार्यालयको तर्फबाट के गर्न सकिन्छ अध्ययन गरिने जनाउनुभयो ।
ठेकेदार र रकमको बारेमा फाईल अध्ययन गरेर जानकारी दिने उहाँले जानकारी दिनुभयो । उहाँले स्थलगत अध्ययन गरेर वास्तविक समस्या पत्ता लगाउने र समाधानका लागि तत्कालै पहल गर्ने समेत प्रतिक्रिया दिनुभयो ।