आठबिसकोटमा चौतारा मेलाको ३०औं संस्करण : तीन लाख राशिको भलिबल प्रतियोगिता

शुक्रबार, कात्तिक ९, २०८१

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका राडिज्युलामा लाग्ने ३० औं यो चौतारा मेलाको अवसरमा विविध साँस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

मेलामा विविध साँस्कृतिक कार्यक्रमसहित पुरुष तथा महिला भलिबल प्रतियोगिता,  ब्याडमिन्टन र घैटोफोर प्रतियोगिता आयोजना गरिएको छ ।

पुरुष भलिबल प्रतियोगिता खुल्ला रुपमा हुनेछ भने महिला भलिबल प्रतियोगिता पालिका स्तरीय हुने मेला आयोजक समितिका सचिव कपिल शर्माले जानकारी दिनुभयो। 

उहाँका अनुसार मेलामा स्थानीय सिंगारु, मयुर नाँच देखि अन्य सांस्कृतिक झाँकी पनि देखाइने छ। पुरुष भलिबलका लागि १० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने महिलाका लागि आठ हजार दर्ता शुल्क तय गरिएको छ। 

पुरुषतर्फको भलिबल प्रतियोगितामा प्रथम हुनेले ३ लाख तीन हजार ३३३ रुपियाँ नगद पुरस्कार पाउने सचिव शर्माले बताउनुभयो। त्यसैगरी दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख दुई हजार २२२ र एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्ने मेला आयोजक समितिका अध्यक्ष दिलिप बटलाले बताउनुभयो।

त्यसैगरी महिलातर्फको विजेताले एक लाख ५५ हजार ५५५ दोस्रो हुनेले एक लाख ११ हजार १११ र तेस्रो हुनेले ७५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने गर्नेछन्। 

ब्याडमिन्टनको विजेताके ८० हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। ब्याडमिन्टन प्रतियोगिताको दर्ता शुल्क भने तीन हजार राखिएको छ।

त्यसैगरी मेलामा घैटोफोर प्रतियोगिता पनि आयोजना गरिएको छ । घैटोफोरको विजेताले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। आयोजकका अनुसार सबै पुरस्कारमा नियम अनुसार कर कट्टि गरिनेछ।

मेलामा पुरानो लोक संस्कृति तथा झाँकी लगायत पैसेरु, टप्पा, सिङ्गारु, मयुर नाचको प्रस्तुति राखिनेछ।  सहभागीहरूलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ।
परम्परागत रुपमा लाग्दै आएको चौतारा मेलाको यो संस्करण कार्तिक २२ गते देखि सुरु हुनेछ। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्