आठबिसकोटका पाँच पसललाई ४५ हजार जरिवाना, दुई पसलको सामान जफत

आइतबार, कात्तिक ११, २०८१

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित राडिमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा शनिबार राडिबजारमा रहेका विभिन्न सात वटा पसलहरुको अनुगमन गरिएको हो । 

अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार राडिबजारकासात वटा पसल अनुगमन गर्दा कैफियत भेटिएका पाँच वटा पसललाई जरिवाना गरिएको छ । उहाँले पाँच वटा पसलललाई ४५ हजार जरिवाना गरिएको र दुई वटा पसलबाट म्याद गुज्रेका सामाग्री जफत गरिएको बताउनुभयो । सात हजार ६८० मूल्य बराबराका ती सामाग्री नष्ट गरिएको छ । 

अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूचि नराखिएको, केहिमा म्याद गुज्रेका सामाग्री रहेको, कुनै पसलले दर्ता प्रक्रिया पुरा नगरेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । 

चाडवाडको बेलामा हुनसक्ने सम्भावित कालोबजारी नियन्त्रण, गुणस्तरहिन सामाग्रीको विक्रि वितरण रोक्न, कानूनी मापदण्डको अवस्था निरीक्षणका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी उपभोग्य सामाग्री विक्रि वितरण गर्न र ठगिनबाट जोगाउन बजार अनुगमन गरिएको उहाँको भनाई छ ।

मापदण्ड पुरा नगरेका व्यवसायीहरुलाई सचेत समेत गराईएको छ । जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यालयसँगको समन्वयमा संयुक्त बजार अनुगमन गर्दै आएको छ । राडि बजारमा आठबिसकोट नगरपालिका, पशु अस्पताल तथा पशु सेवा कार्यालय, नेपाल प्रहरी लगायतको समन्वयमा बजार अनुगमन गरिएको हो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्