सल्लेमा जहाजको टिकट पाउन रातभर जाग्राम, चौरजहारी विमानस्थल दश वर्षदेखी बन्द !

मंगलबार, कात्तिक १३, २०८१

चाडवाड सुरु भएसँगै सडक तथा हवाई यातायात सुविधाका लागि सर्वसाधारणहरुले सास्ती पाउने गरेका छन् । रुकुम पश्चिमबाट जाने र आउने यात्रुहरुले हवाईजहाज र बसको सहज सुविधाको लागि हप्ता दिनअघिबाट सास्ती खेप्नुपर्ने बाध्यता रहेको जनाएका छन् । 

जहाजको लागि टिकट पाउनै मुश्किल रहेको छ भने बसमा एउटै सिटमा दुई, तीन जनाको नाममा टिकट काटिएको गुनासो पाईन्छ । सल्ले बिमानस्थलमा हप्तामा दुई दिन जहाज आउने गर्दछ । मङगलबारका दिन नेपालगञ्जबाट रुकुमहुँदै काठमाडौ र आईतबार काठमाडौबाट रुकुमहुँदै नेपालगञ्ज जाने जहाजको तालिका रहेको छ । आगामी हप्ताको मङगलबार काठमाडौ जाने टिकट पाउनको एक साता अघि नै टिकट वितरण हुने गर्दछ ।

टिकट पाउनको लागि सर्वसाधारणहरु सोमबार बेलुका देखि नै नेपाल वायुसेवा निगमको सल्लेस्थित कार्यालयमा लाईनबद्ध हुने गरेका छन् । मुसिकोट नगरपालिका –१ की ममता मल्लले सोमबार राती १० बजेदेखि नै निगमको कार्यालयमा आएर लाईन लागेको बताउनुभयो । उहाँले रातभर लाईन बसेपछि मङगलबार टिकट पाउने आशा राखेको बताउनुभयो ।

मङगलबार रुकुमबाट जहाज काठमाडौं गएपछि मात्रै कार्यालयले आगामी साताको लागि टिकट वितरण गर्दछ । मल्लले हरेक वर्षको चाडवाडमा यस्तै सास्ती खेपेर टिकट लिने गरेको बताउनुभयो । 

मुसिकोटकै सुस्मा थापाले सोमबार बेलुकादेखि लागेको लाईन मङगलबार बिहानसम्म २४ जनासम्म पुगेको बताउनुभयो । उहाँले कसैले नाम टिपाएर गएको भएतापनि आफूहरु रातभर जाग्राम बसेको जनाउनुभयो । यात्रुहरुको चापाचाप हुने बेलामा नेपाल वायु सेवा तथा अन्य निजी विमानले उडान गर्न आवश्यक रहेको उहाँको भनाई रहेको छ । 

सल्ले विमानस्थलका प्रमुख प्रेम ओलीले चाडवाडको बेला बढी नै यात्रुहरुको चाप हुने गरेको बताउनुभयो । ‘रातीदेखि नै लाईन लागेको हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘यात्रुहरुले लाईनबद्ध हुँदा बनाएको लिस्टको आधारमा टिकट वितरण पनि हुन्छ । एकदिन नेपालगञ्ज र एकदिन काठमाडौका लागि सेडुअल छ, सबैलाई पठाउन मुश्किल छ ।’ उहाँले निगमले जहाज अभावको कारण उडान थप गर्न नसकेको तर निजी जहाजहरुले उडान भर्न आवश्यक देखिएको बताउनुभयो ।

यात्रुहरुको सहजताको लागि अनलाईनमार्फत टिकट किन्न सकिने व्यवस्था समेत रहेको उहाँले जानकारी दिनुभयो । तर यात्रुहरुले जानकारी नभएको भन्दै राती देखि नै लाईन लाग्ने गरेको उहाँले बताउनुभयो । अनलाईन टिकट खुलेको बेलामा बुकिङ गरेमा लाईन बस्नुपर्ने समस्या नरहने उहाँको भनाई रहेको छ । 

कालोपत्रे गरिएपछि चौरजहारी विमानस्थल बन्द

रुकुम पश्चिममा दुई वटा विमानस्थल रहेका छन् । सदरमुकाममा रहेको सल्ले विमानस्थलमा अहिले हप्तामा दुई पटक जहाज आउने तालिका रहेको छ भने चौरजहारी विमानस्थल बन्द अवस्थामा छ । २०२८ सालदेखि सञ्चालनमा आएको चौरजहारी विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन ।

रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी निर्माण गरिएको यो विमानस्थल कालोपत्रे गरिएपछि बन्द भएको हो । २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्ग कालोपत्र गरिएको थियो । पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपिँयाको लागतमा धावनमार्ग कालोपत्र भएपछि यहाँ जहाज आउनै छोडेका छन् । 

सर्वसाधारणहरुले चाडवाडको बेलामा भएपनि सञ्चालनमा आउने अपेक्षा बोकेको दशक बितिसक्दा पनि चौरजहारी विमानस्थल सञ्चालनको बारेमा कहिकतै चासो नगरिएको गुनासो रहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्