दानवीर डिलाराम : स्वास्थ्य र वडा कार्यालयलाई जग्गा दिएका डिलारामबाट खेलमैदानका लागि जग्गादान 

मंगलबार, कात्तिक १३, २०८१

सल्यानको बनगाड कुपिण्डे नगरपालिका -२ बामे घर्तीगाउ निवासी ३३ बर्षका डिलाराम खत्री (दिलिप) ले खेल मैदानका लागि एक रोपनी जग्गादान गर्नुभएको छ । 

वडामा खेलमैदानको अभाव भएकोले खत्रीले जग्गादान गर्नुभएको हो । खेल मैदान अभावमा स्थानीयस्तरमा खेलकुदका गतिविधिहरु समेत सञ्चालनमा समस्या हुँदै आएको थियो । 

उहाँले वडा नम्बर २ को डाँडागाउँ भन्ने स्थानमा रहेको जग्गा जग्गा दान गरेपछि खेलाडी र स्थानीयवासी खुशी भएका छन् । स्थानीय स्रतमा रहेका खेल प्रतिभाहरु र समग्र खेल क्षेत्रको विकासको लागि आफूले जग्गादान गरेको खत्रीले बताउनु भएको छ । 

खत्रीले यस अघि पनि स्वास्थ्य कार्यालयका लागि दुई रोपनी र वडा कार्यालयको लागि तीन रोपनी जग्गादान गर्नुभएको थियो । उहाँले दान गर्नुभएको जग्गामा स्वास्थ्य कार्यालय बनेर संचालनमा आएको छ भने वडा कार्यालय भवन निर्माण सम्पन्न हुने चरणमा रहेको छ ।  

खत्रीले करिब सात वर्ष पहिला अरुबाट नौ लाखमा किनेको ६ रोपनी जग्गा अहिले वडा कार्यालय, स्वास्थ्य कार्यालय र खेलमैदानका लागि दान गरिसक्नुभएको छ । 

सामाजिक सेवामा सधै अगाडि बढ्ने खत्री युवाहरू माझ लोकप्रिय पनि हुनुहुन्छ ।  विरोधका नाममा विरोध गर्नु भन्दा समाज सुधारको लागि आफैबाट सुरु गर्नुपर्ने भन्दै आफुले जग्गा दान गरेको उहाँले बताउनु भएको छ । आफूसँग केही नभएको तर पनि दान गर्दा आफ्नो मन खुसी हुने उहाँले बताउनुभयो। 

वडामा समस्या परेको देखेमा आफ्नो मन दुःखी हुने पनि उहाँले बताउनुभयो। आवश्यक परे अझै पनि आफूसँग भएको चिज दान गर्न पछि नहट्ने उहाँको भनाई रहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्