सानीभेरीमा बजार अनुगमन : करिब डेढ लाख बराबरका म्याद गुज्रेका सामाग्री जफत

मंगलबार, कात्तिक १३, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका विभिन्न स्थानमा रहेका बजार क्षेत्रमा अनुगमन गरिएको छ । 

बजार अनुगमनको क्रममा विभिन्न पसलबाट करिब डेढ लाख बराबरका म्याद गुज्रेका सामाग्री जफत गरिएको छ । अनुगमनको क्रममा विभिन्न स्थानमा रहेका हार्डवेयर तथा अन्य पसलमा रहेका ईनामेल, रंगरोगनका सामाग्री, दैनिक खाद्य सामाग्रीहरु, पेय पदार्थहरु म्याद गुज्रेको भेटिएपछि गाउँपालिकाले जफत गरेको छ । 

गाउँपालिकाले चाडपर्वलाई मध्यनजर गरेर सिम्लीबजार, पेदी बजार, गिठाकोट, चाइनाबगर, काफलबोट लगायतका बजारमा रहका पसलहरुको अनुगमन गरेको थियो ।  

अनुगमन समितिका संयोजक तथा सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले पसल अनुगमनका क्रममा ठुलो मात्रामा म्याद नाघेका सामानहरु जफत गरिएको बताउनुभयो  । उहाँका अनुसार चाडपर्वलाई मध्यनजर गरि  विभिन्न बजारका लागि छुट्टाछुट्टै टोली बनाएर छड्के अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूचि नराखिएको, अधिकांसमा म्याद गुज्रेका सामाग्री रहेको, कुनै पसलले दर्ता प्रक्रिया पुरा नगरेको पाईएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो । 

चाडवाडको बेलामा हुनसक्ने सम्भावित कालोबजारी नियन्त्रण, गुणस्तरहिन सामाग्रीको विक्रि वितरण रोक्न, कानूनी मापदण्डको अवस्था निरीक्षणका लागि बजार अनुगमन गरिएको उपाध्याक्ष पुनले जानकारी दिनुभयो । उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी उपभोग्य सामाग्री विक्रि वितरण गर्न र ठगिनबाट जोगाउन बजार अनुगमन गरिएको उहाँको भनाई छ ।

मापदण्ड पुरा नगरेका व्यवसायीहरुलाई सचेत समेत गराईएको छ । चाडबाडको समयमा सँधैजसो सानीभेरी गाउँपालिकाले बजार अनुगमन गर्दै आएको छ । अनुगमनमा उपाध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी लगायतको टिम परिचालन भएको थियो । सानीभेरी गाउँपालिकाका, पशुसेवा शाखा, कृषि शाखा, स्वास्थ्य शाखा,  नेपाल प्रहरी लगायतको समन्वयमा बजार अनुगमन गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्