चौरजहारीका ९१३ जना भूकम्पपीडित परिवारलाई ४० दिनको रोजगारी

बुधबार, कात्तिक १४, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिकमा नगरपालिका क्षेत्रभित्रका ९१३ जनालाई ४० दिनको रोजगारी प्रदान गरेको छ ।

भूकम्पपीडित परिवारलाई आयआर्जनका लागि  सहयोग पुर्‍याउन कामका लागि नगद कार्यक्रम अन्तर्गत रोजगारी प्रदान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । 

विश्व खाद्य कार्यक्रम र सप्रोक्स नेपालसँगको सहकार्यमा नगरपालिकाले कामका लागि नगद कार्यक्रमबाट १०.६ किलोमिटर सडक निर्माण गरिएको छ । सडकको स्तरोन्तीसँगै ९१३ जना कामदारले ३६ हजारका दरले तीन करोड २८ लाख ६८ हजार रकम  पाउने भएका छन् । 

वडा नम्वर ४ को बस्नेतज्यूला देखि अमलाटाकुरा, वडा नम्वर ८ को बडाखोलादेखि स्वास्थ्य चौकी  र वडा नम्वर १४ को तिमीले लामाडाँडा साक्चा सडक स्तरोन्नती गरिएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले पहिलो चरणमा १८ हजारले सम्बन्धित कामदारको खातामा रकम निकासा भइसकेको र बाँकी रकम निकासाको अन्तिम चरणमा रहेको बताउनुभयो । 

भूकम्प प्रभावित परिवारहरूलाई स्थानीय रोजगारीका साथै पूर्वाधार निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको हो । स्थानीयस्तरमै रोजगारी प्राप्त गरेपछि भूकम्पपीडित परिवारहरू खुसी भएको उहाँको भनाई रहेको छ । 

ddc9cab5-f184-4a69-9180-c58235ce4d53-1730270698.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्