रुकुमका गाउँ गाउँमा ‘स्केट पार्क’ को आकर्षण

बुधबार, कात्तिक १४, २०८१

रुकुम पश्चिमका विभिन्न स्थानमा 'स्केट पार्क' सञ्चालनको लहर चलेको छ । पछिल्लो समय युवाहरुको बिशेष रोजाईमा परेको स्केट खेल सञ्चालनका लागि गाउँगाउँमा थप स्केट पार्क समेत निर्माण भईरहेका छन् । 

गत भदौ महिनाको पहिलो साता मुसिकोट नगरपालिका –१ मठमा जिल्लामै पहिलो पटक ‘मुसीकोट स्केट पार्क’ सञ्चालनमा आएको थियो । त्यसपछि जिल्लाको अधिकांस पालिकामा स्केट पार्क निर्माण र सञ्चालनको लहर चलेको छ । 

हालसम्म मुसीकोट नगरपालिकाको वडा नम्वर १ मठ र ५ सेरीगाँउमा, चौरजहारी नगरपालिकाको वडा नम्वर २ मा, आठबिसकोट नगरपालिकाको वडा नम्वर ९ राडि र ११ सिमबजारमा स्केट पार्क सुरु भएका छन् ।

त्यसैगरी त्रिवेणी गाउँपालिका २ को सिम्रुतु बजार र सानीभेरी गाउँपालिका ७ को सिम्लीमा एक वटा स्केट पार्क सञ्चालन भएका छन् । बाँफिकोट गाउँपालिको छिनखेत, चौरजहारीको बसपार्क र आठबिसकोट नगरपालिकाका राडिमा थप पार्कहरु निर्माण भईरहेका छन् । 

मुसिकोट स्केट पार्कका सञ्चालक गंगाराम खड्काले युवाहरुको चाहनालाई  लक्षित गरेर व्यक्तिगत लगानीमा स्केट पार्क सञ्चालन गरेको बताउनुभयो । उहाँका अनुसार अहिले स्केट पार्कमा दैनिक डेढ सय बढीले स्केटिङ गर्ने गरेका छन् । स्केटिङ गर्न बालबालिका र युवाहरु बढी आउने गरेको उहाँले जनाउनुभयो । करिब २० देखि २५ लाखको लगानीमा स्केट पार्क निर्माण सम्पन्न हुने बताईएको छ । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस शर्माले मनोरञ्जनात्मक साहसिक खेलप्रति आकर्षण बढीरहेको बताउनुभयो । उहाँले बालबालिका तथा युवाहरुको स्केट खेलप्रतिको आकर्षणले खेलकुदको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जनाउनुभयो ।

यसको थप व्यवस्थापन र विकास आवश्यक रहेको उहाँको भनाई छ । यसबाट व्यवसायसँगै आन्तरिक तथा बाह्य रुपमा खेल पर्यटन प्रवद्र्धन हुने विश्वास रहेको अध्यक्ष शर्माले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्