सोसल मिडिया
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरीमा जारी सर्वाधिक राशिको चौथो मेयर कप पालिका स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमका सानीभेरी र बाँफिकोट गाउँपालिकाको भलिबल टिम पुगेका छन्।
बुधबार भएको सेमिफाइनल खेलमा सानीभेरीको भलिबल टीमले यार्सा स्पोर्ट्स क्लब माझफाललाई सोझो सेटमा हराउदै फाइनल पुगेको हो । त्यस्तै बाँफिकोट गाउँपालिकाको टिमले त्रिपुरासुन्दरी ५ र ६ को संयुक्त भलिबल टीमलाई हराउदै फाइनल पुगेको हो।
फाइनल खेल बिहीबार आयोजनाको समापन समारोहमा सानीभेरी र बाँफिकोट बिच खेलाईने आयोजक त्रिपुरासुन्दरी नगरपालिकाले जानकारी दिएको छ। सानीभेरीको भलिबल टिमलाई सायरा आयल स्टोर्सले प्रायोजन गरेको हो भने बाँफिकोटको भलिबल टिमलाई कंकासुर भूमि कन्ट्रक्सनले प्रायोजन गरेको हो ।
त्यस्तै आज नै तेश्रो स्थानको लागि भएको खेलमा यार्सा स्पोर्ट्स क्लब माझफालले त्रिपुरासुन्दरी ५ र ६ को संयुक्त टोलीलाई पराजित गरी तेश्रो स्थान हाँसिल गरेको छ। कार्तिक १० गते देखि सुरु भएको खेलमा जिल्ला भित्र र बाहिरका गरेर १९ भलिबल टिमले भाग लिएका थिए। प्रत्येक टीमलाई ४ समूहमा विभाजन गरिएको थियो।
आयोजक त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीराचन्द्र धरलाका अनुसार प्रथम हुने टिमले तीन लाख नगदसहित ट्रफि, मेडलसहित प्रमाणपत्र, द्वितीय हुनेले दुई लाख नगद सहित ट्रफि, मेडलसहित प्रमाणपत्र रतृतीय हुने टिमले एक लाख नगदसहित ट्रफि, मेडल सहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगितामा सान्त्वना हुने टिमले २० हजार नगद प्राप्त गर्ने छन्।