सोसल मिडिया
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ र ५ मा फैलिएको स्यार्पूतालमा सञ्चालित मोटर स्पीडबोट र डुङगाहरु अनुमति बिनै सञ्चालन भएको भन्दै बन्द गरिएको छ ।
पर्यटन प्रवद्र्धन र स्वरोजगारका लागि सञ्चालित डुङगाहरु आवश्यक कानूनी प्रक्रिया तथा अनूमतिबिनै सञ्चालन गरिएको पाईएपछि बन्द गरिएको हो ।
स्पार्पूतालमा सुरुमा काठका र केहि वर्ष पहिलादेखि आधुनिक डुङगा सञ्चालन हुँदै आएका थिए । चार वटा आधुनिक डुङगा सञ्चालनमा रहेका थिए भने भदौ दोश्रो साताबाट एक वटा मोटर स्पिडबोट समेत सञ्चालनमा आएको थियो । मोटरबोटले आवश्यक कानूनी प्रक्रिया तथा अनुमति बिनै सञ्चालनमा आएको र यसले क्षति हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत परेको थियो ।
बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बिकका अनुसार मोटरबोट सञ्चालनको अनुमति पर्यटन बोर्डबाट लिनुपर्ने हुन्छ । उहाँले बोर्डले वातावरणीय अवस्था, प्रभाव तथा मोटरबोट परिक्षण गरेर मात्र सञ्चालनको अनुमति दिने जानकारी दिनुभयो ।
यसका साथै यसअघि नियमित सञ्चालनमा परम्परागत डुङगा सञ्चालनको लागि आवश्यक कार्यविधिको निर्माण हुन बाँकि रहेको उहाँले बताउनुभयो । यसका लागि पालिकाले कार्यविधि तयार गरेर परम्परागत डुङगा सञ्चालनको लागि अनुमति दिन सकिन्छ ।
यस अघि गाउँपालिकाले मोटरबोट सञ्चालनको अनूमति दिएको थियो । उक्त कार्य पर्यटन बोर्डको क्षेत्राधिकार भएकोले गाउँपालिकाले उक्त अनूमति रद्ध गरेको छ । त्यसयता मोटरबोटसहित अन्य परम्परागत डुङगाहरु बन्द रहेका छन् ।
सुन्दर स्यार्पूताललाई थप आकर्षक बनाउँदै पर्यटक तानिरहेका डुङगाहरु बन्द हुँदा यहाँ आउने पर्यटकहरुको संख्या घटेको छ । पर्यटकहरुले निराश हुँदै फर्किनुपरेको जनाएका छन् भने डुङगा सञ्चालकहरुको व्यवसायमा प्रभाव परेको छ ।
दाङको घोराहीबाट घुम्न र स्यार्पूतालमा डुङगा चढ्न भनेर एक टिमका साथ आउनुभएका नारायण हमालले स्यार्पूमा डुङगा चढ्न नपाउँदा मन खल्लो भएको बताउनुभयो । सुन्दर तालमा रमाउँदै बोटिङ गर्ने रहर अधुरै छोडेर फर्किनु परेको उहाँले जनाउनुभयो । हमाल जस्तै दर्जन बढी आन्तरिक पर्यटकहरु डुङगामा रमाउने शोख पुरा नगरेर फर्कन बाध्य भएका छन् । चाडपर्वको बेला गाउँ फर्केकाहरु समेत सुन्दर तालमा बोटिङ गर्न नपाएको भन्दै गुनासो गर्ने गरेका छन् ।
स्यार्पूतालमा आधुनकि डुङगा सञ्चालन गर्दै आउनु भएका आदित्य मल्लले स्थानीय सरकारले चाँडै नै कार्यविधि बनाएर डुङगा सञ्चालनको अनूमति दिनुपर्ने बताउनुभयो । उहाँले चार वटा डुङगाका सञ्चालकहरु गाउँपालिका गएर व्यवसाय दर्ता गछौ, आवश्यक राजश्व तिर्छौ भनेर बारम्बार भनिरहेको उल्लेख गर्नुभयो ।
स्थानीय सकारले आफूहरुको रोजिरोटी खोस्ने काम गरेको र पर्यटकहरुको रहर मार्ने काम गरेको उहाँको भनाई रहेको छ ।