सोसल मिडिया
२०८० कात्तिक १७ गते राती जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको आज (शनिबार) एक वर्ष पुगेको छ ।
जाजरकोट र रुकुम पश्चिमका लागि बिर्सन नसक्ने घाउ बनाएको यो बिनाशकारी भूकम्पले अकल्पनीय रुपमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकै तथ्याङक अनुसार जाजरकोट र रुकुमपश्चिमका १५४ जनाको ज्यान गयो भने २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आशिंक क्षति भएका छन् ।
यो घातक कम्पनको कारण अधिकांस नागरिकहरुका गाँस, बास र कपास समेत खोसिए । विद्यालय, स्वास्थ्यका भवन, ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका सम्पदाहरु ध्वस्त भए । करिब ७५ हजार परिवार प्रभावित बने ।
विनाशकारी भूकम्प गएको एक वर्ष पूरा हुँदासम्म पनि भूकम्पले ढलेका यहाँका बस्तीहरु उठ्न सकेका छैनन् । यहाँ नचिर्किएका घर भेटाउन मुश्किल छ । अधिकांश नागरिकहरु चर्किएका घर र अस्थायी आवासमा जसोतसो बसिरहेका छन् । अझै मन लयमा फर्कन सकेको छैन ।
जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष बिरबहादुर गिरीले अझैसम्म यहाँका बस्तीहरु उठ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न चिसोमा न्यानो पाउन सके, न गर्मिमा छहारी, दयनिय अवस्थामा भूकम्पपीडितहरु बाँचिरहेका छन् ।’ भूकम्पले थला परेका बस्तीहरु झन् कमजोर बन्दै गईरहेको उहाँको भनाई रहेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले भूकम्पले थला पारेका बस्तीहरु बाढी पहिरोका कारण थप पीडित बनेको बताउनुभयो । ‘भूकम्पले घरबासविहिन बनाएपछि जसोतसो टहरा बनाएर बसेकालाई नै पहिरोले बगायो, घरखेत बगायो,’ नगर प्रमुख केसीले भन्नुभयो, ‘न व्यक्तिगत आवास सुरक्षित बन्न सके, न त स्वास्थ्य र शिक्षाका संरचना पुनर्निमाण भए ।’ उहाँका अनुसार बस्तीहरु अझै भूकम्प, बाढी र पहिरोबाटै थलिएका छन् ।
भूकम्पले घरबारबिहिन भएकाहरु पुस माघको जाडोमा त्रिपालमूनि र गर्मीयाममा जस्तापाताको टहरामूनि कष्टकर दैनिकी बिताउनु परेको बताउँछन् । प्रभावित बस्तीहरुमा अझैपनि पुनर्निर्माण अभियान सञ्चालन हुन सकिरहेको छैन । संघीय सरकार लगायतका सरकारी निकायबाट पुनर्निर्माण र पुनस्र्थापनामा तीव्रता दिने र नागरिकको जिउधनको सुरक्षा गर्ने पटक–पटक प्रतिबद्धता गरिए पनि खास अवस्था भने दयनिय छ ।
भूकम्पबाट प्रभावितहरू अझैसम्म पनि आफन्त, पशु चौपाया र घर गुमाउँदाको पीडाले सहज अवस्थामा पुग्न सकेका छैनन् । मौसमी समस्याहरू बढ्दा जोखिमपूर्ण अवस्थामा बसेका नागरिकहरूलाई सुरक्षित राख्न झन् चुनौतीपूर्ण बन्दै गएको छ ।
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले घरसँग मान्छेको मन जोडिएको हुनाले सुरक्षित आवास निर्माण नहुँदासम्म पीडितहरुको मन लयमा फर्कन कठिन भएको बताउनुहुन्छ । उहाँले घर, शौचालय, गोठ एकिकृत रुपमा निर्माण गर्नुका साथै भूकम्पपीडितहरुलाई आर्थिक उपार्जनका गतिविधिहरुमा जोड्न आवश्यक रहेको बताउनुभयो ।
भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको जनाउने सरकार कार्यविधिमै अल्झिएको छ भने चिसो रात र बर्षायाम कटाएका पीडितहरू सुरक्षित आवासको आशामा रहेका छन् । भूकम्प गएको वर्ष दिन पुग्न लाग्दा पनि संघीय सरकार पुनर्निर्माणतर्फ बढेको छैन ।
ध्वस्त भएका विकासका पूर्वाधार एवं भौतिक संरचनाहरूको मर्मत सम्भार र पुनर्निर्माणको कार्यमा सन्तोषजनक प्रगति भएको देखिदैन । यसका साथै उच्च जोखिमस्थानका बस्तीहरु अझै पनि जोखिममै छन् भने पीडितहरूलाई आवश्यक सुझाव, सिफारिस र परामर्श दिने व्यवस्था पनि आवश्यक रहेको छ ।