भूकम्प प्रभावित बस्तीमा नाचगान गरेर मन भुलाउँदै

सोमबार, कात्तिक १९, २०८१

अघिल्ला तीन वर्षहरुमा कोरोना महामारीको कारण दसै तिहार उल्लासमय हुन सकेका थिएनन् । गत वर्ष दसैँ सकिएर तिहार नआउँदै जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प आयो । 

२०८० कात्तिक १७ गते राती आएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा मानविय र भौतिक क्षती गर्यो । जुन पीडा पीडितहरुको मनबाट वर्ष दिनसम्म पनि हट्न सकेको छैन । शोकमा रहेका र घरबासविहिन भएका प्रभावितहरुको यसवर्षको दसैँ तिहार उल्लसामय हुन सकेन्न । 

तर भूकम्प प्रभावित बस्तीमा यस वर्ष बालबालिका र युवाहरुले देउसी खेलेर पीडा भुलाउने कोशिस गरेका छन् । आठविसकोट नगरपालिका –१४ का रमेश मल्लले मनमा पीडा लुकाएर बसिरहेका भूकम्प प्रभावितहरुको आँगनमा पुगेर नाचगान मार्फत उत्साह फर्काउने कोशिस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चर्किएका घर र अस्थायी आवासमा आश्रय लिएकाहरुको आँगन देउसी लिएर उमंगको माहोल बनाउँदा भूकम्प प्रभावितहरुको मन हल्का भएको पायौ ।’ उहाँका अनुसार गाउँमा यस पटक बालबालिका र युवाहरुको अलग अलग देउसी टिम निर्माण गरिएको थियो । 

गत वर्षको तिहारमा देउसी खेल्ने अवस्था थिएन । भूकम्पको कारण अधिकांस नागरिकहरु खुला आकाशमा दिनरात बिताउन बाध्य थिए । यस पटक टहरामै भएपनि महान् पर्व तिहारको अवसरमा देउसी खेलेको ज्यामिरकोटकै प्रमिला मल्लले बताउनुभयो । चाडवाड, साँस्कृतिक पर्वहरु एकताको प्रतिक र मनका पीडाहरु हल्का बनाउने माध्याम भएकोले घरघरमा पुगेर देउसी खेलेको उहाँको भनाई रहेको छ । 

यहाँ तिहार सुरु भएदेखि देउसी खेल्ने र भाईटिका दिनदेखि सिंगारु, पैसेरु लगायतका मौलिक तथा परम्परागत नाच नाच्ने चलन रहेको छ । सानीभेरी गाउँपालिका निवासी सञ्चारकर्मी नारायण ओलीले पीडा भुलेर मन हल्का बनाउने साँस्कृतिक पर्वको उचित उपयोग गाउँमा भएको बताउनुभयो ।

उहाँले चाडपर्वले रमाईलोका साथै सामिप्यता स्थापित गरेर एकरुपता कायम गर्ने उल्लेख गर्नुभयो । ‘बाँच्न पाईयो, त्यहि ठुलो कुरा’ हो भन्दै गाउँघरमा देउसी खेल्ने, पैसेरी र सिंगारु नाच नाच्नेहरुको लहर देखिएको ओलीले जनाउनुभयो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्