सोसल मिडिया
राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ रहेको पितिबाङ खोलामा आएको बाढीको कारण राजमार्ग अबरुद्ध भएको छ ।
सोमबार बेलुका परेको असिना पानीको कारण पितिबाङ खोलामा बाढी आएको थियो । खोलामा लगाईएको होमपाईप समेत बन्द भएपछि राजमार्गमा यातायातका साधनहरु अवरुद्ध भएका हुन् ।
खोलामा बढेको बाढीको कारण बेलुका पाँच बजेदेखि यातायातका साधनहरु रोकिएको यात्रुहरुले जानकारी दिएका छन् । यात्रु सरोज शाहले बाटोमा दर्जनौ बस र यात्रुहरु रोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार तिहार मानेर फर्कन थालेका र आउन थालेका यात्रुहरु खोलाको दुबै किनारतर्फ रोकिएका छन् ।
सडक अबरुद्ध हुँदा बिशेष गरेर महिला, बालबालिका र जेष्ठ नारिकहरुलाई समस्या परेको छ । स्थानीय प्रशासनले यातायात सुचारु गर्नका लागि डोजर लगाएर बन्द भएको होम पाईप खुलाएर खोलालाई सहज बनाउने कार्य जारी रहेको जनाएको छ । यातायातका साधनहरु सञ्चालन गरेर यात्रुहरुलाई गन्तव्य पठाउने गरी काम भईरहेको बताईएको छ ।
पितिबाङ खोलामा पुल नबन्दा सर्वसाधारणहरुले हरेक वर्ष सास्ती पाउदै आईरहेका छन् । बिशेष गरेर वर्षायाममा सर्वसाधारणले बढी दुख पाउने गरेका छन् ।
पाँच वर्षदेखि पुल अलपत्र
राप्ती राजमार्ग अन्तर्गत मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङखोलामा निर्माण थालिएको मोटरेबल पुल पनि ठेक्का सम्झौता भएको पाँच वर्षदेखि अलपत्र छ ।
उक्त पुल निर्माणको लागि संरक्षण निर्माण सेवा प्रा.लि. चितवन र सडक डिभिजन कार्यालय चौरजहारी बिचमा २०७६ साल असार ८ गते सम्झौता भएको थियो । जिल्ला प्रवेशको मुख्य नाका नजिक रहेको खोलामा पुल नहुँदा सर्वसाधारणहरुले सास्ती पाउने गरेका छन् ।