पितिबाङखोलाबाटै ठेकेदारलाई सांसद रोकायको निर्देशन, तीन महिनामा पुल बनाईसक्ने प्रतिबद्धता 

मंगलबार, कात्तिक २०, २०८१

राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ मा पर्ने पितिबाङ खोलामा निर्माणाधिन मोटरेबल पुल पाँच वर्ष देखि अलपत्र छ । यो खोलामा पुन नबन्दा सर्वसाधारण तथा यात्रुहरुले हरेक वर्षायाममा दुख पाउँदै आएका छन् । 

हिजो सोमबार आएको बेमौसमी वर्षाले समेत पितिबाङमा बाढी आएपछि सडक अवरुद्ध भएको थियो । चाड मानेर फर्कदै गरेका यात्रुहरुले असिना पानीको सामना गर्नुका साथै रातभर सडकको बास बस्नुपर्ने बाध्यता आयो । जिल्ला प्रशासन कार्यालयले मुसिकोट नगरपालिका र सडक डिभिजन कार्यालय चौरजहारीसँग समन्वय गरेर अस्थायी रुपमा बाटो सञ्चालनमा ल्याएको थियो । 

मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङखोलामा निर्माण थालिएको मोटरेबल पुल पनि ठेक्का सम्झौता भएको पाँच वर्ष पुगेको छ । उक्त पुल निर्माणको लागि संरक्षण निर्माण सेवा प्रा.लि. चितवनले ठेक्का पाएको हो । सडक डिभिजन कार्यालय चौरजहारीसँग ठेकेदार कम्पनीले २०७६ साल असार ८ गते सम्झौता गरेको बताईन्छ । तर ठेकेदारकै लापरबाहिले समयमा पुल बनेको छैन । 

सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने कोशिस गर्दा पनि सफल नभएको बताईन्छ । यो कम्पनीको ठेकेदार चितवनका केशव लामिछाने राजनीतिक रुपले नेपाली काँग्रेसका नेता भएको आरोप छ । राजनीतिक आड र पहुँचको भरमा चितवनका ठेकेदार लामिछानेले रुकुमको पुल निर्माणमा वेवास्ता गरेको आरोप लाग्ने गरेको छ । ठेकेदारको पहुँच र पावरकै कारण सडक डिभिजन कार्यालयले उनीसँगको ठेक्का तोडेर अर्को ठेक्का खोल्ने प्रक्रिया थाल्न नसकेको पाईन्छ । 

उनै ठेकेदार लामिछानेलाई राष्ट्रिय सभा, नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर रोकायले पुल निर्माणका लागि दवाव दिनुभएको छ । आज मंगलबार बिहान पुल निर्माणस्थलमा अनुगमनका लागि पुग्नु भएका रोकायले त्यहिबाट ठेकेदार लामिछानेलाई फोन गरेर तत्काल पुन निर्माणको काम अघि बढाउन ताकेता गर्नुभएको रोकायको सचिवालयले जनाएको छ । 

पुल निर्माणको काम छिटो सुरु गर्न निर्देशन दिनुभएका राष्ट्रिय सभा सदस्य रोकायलाई निर्माण व्यवसायी लामिछानेले तीन महिना भित्र काम सक्ने प्रतिबद्धता जनाएका छन् । रोकायले उक्त प्रतिबद्धता अनुसार काम भए नभएको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिनुभएको छ । 

465889870_122185417538225397_4733928512807163193_n-1730819193.jpg

स्मरण रहोस्, पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले पटक पटक पुल निर्माणका लागि उनै ठेकेदार लामिछानेसँग निर्देशन दिनुभएको थियो । माओवादी केन्द्रका प्रभावशाली नेता शर्माले कहिले निर्देशन त कहिले अनुरोध गर्दा पनि लामिछानेले समयमै काम सम्पन्न गर्ने कुनै सुरसार गरेका छैनन् । पूर्वमन्त्री शर्माले पुन निर्माणस्थलमै पत्रकार सम्मेलन समेत आयोजना गरेर ठेकेदारलाई निर्माण कार्यका लागि दवाव दिनुभएको थियो । 

यसका साथै समाजवादी मोर्चाले समेत पुल निर्माणस्थलदेखि जिल्ला प्रशासन, सडक डिभिजन कार्यालयमा लगातार पुल निर्माणको काम सुरु गराउनका लागि दवावका कार्यक्रम समेत गरेको थियो । सडक डिभिजन कार्यालयले उक्त निर्माण कम्पनीले सययमै काम सम्पन्न गर्ने तदारुपता नदेखाएपछि ठेक्का किन नतोड्ने भन्दै ठेक्का रद्ध गर्ने फायल समेत अगाडि बढाएको थियो । तर, ठेकेदारको राजनीतिक पावर देखाएर ठेक्का रद्ध गर्नबाट जोगाएका थिए । 

राष्ट्रिय सभाका सदस्य तथा नेपाली काँग्रेसका सांसद कृष्ण बहादुर रोकायले आज प्रमुख जिल्ला अधिकारी कुल बहादुर जी.सी., प्रहरी नायब उपरिक्षक नवराज पोखरेल, सडक डिभिजन कार्यालयका कर्मचारीहरु बिचमा निर्माणस्थलबाटै ठेकेदारलाई दिएको निर्देशन पालना र ठेकेदारको प्रतिबद्धता कार्यान्वयनमा शंका भने यथावत नै रहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्