देउसी खेलेर संकलन भएको रकम घाईते शिक्षकको उपचारका लागि हस्तान्तरण

बुधबार, कात्तिक २१, २०८१

तिहारको अवसरमा खेलिएको देउसी भैलोबाट संकलित रकम भोज गर्ने, भ्रमणमा जाने लगायतका कार्यमा खर्च गर्ने चलन रहेको पाईन्छ । तर रुकुम  पश्चिमका युवाहरुको एक टोलीले तिहारमा अवसरमा खेलिएको देउसीबाट संकलन भएको रकम एक बिरामीको उपचारका लागि उपलब्ध गराईएको छ । 

जिल्लाको सानीभेरी गाउँपालिका -३ श्रीचौरको युवा टोलीले तिहारमा देउसी खेलेर उठेको रकम मोटर साईकल दुर्घटनामा परेर घाईते हुनुभएका स्थानीयवासी शिक्षक मस्त बहादुर खड्काको उपचारको लागि हस्तान्तरण गरेको हो । 

देउसी टोलीका अगुवा कमल जंग रसाईलीका अनुसार घाईते खड्काको घरमा गएर देउसीभैली खेलेर बचेको पाँच हजार तीन सय रुपियाँ उहाँका आफन्तलाई उपलब्ध गराईएको छ । रसाईलीका अनुसार तिहारको दिन एक घण्टा जति गाउँमा देउसी खेलेको र उठेको रकममा केहि रकम स्थानीय युवाहरुबाट संकलन गरेर घाईतेको परिवारलाई हस्तान्तरण गरिएको हो । 

वडा अध्यक्ष जगदिश नकाल, युवाहरु कमल जंग रसाईली, बलबहादुर बिक, बिरसिं बिक, नविन रसाईली, गोपाल बिक लगायतको टिमले आज उहाँकै घरमा गएरसहयोग रकम उपलब्ध गराएको हो । 

रकम हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष नकालले युवाहरुले सहयोगी भावनाकासाथ देउसीको रकम घाईतेका उपचारका लागि हस्तान्तरण गरेको बताउनुभयो । उहाँले युवाहरुको यस कार्य उदाहरणीय र प्रशसंणीय रहेको जनाउनुभयो । फजुल खर्च गर्नुभन्दा यस खालका सामाजिक कार्यमा रकम खर्च गर्नु पुण्य कार्य हुने उहाँको भनाई छ । 

सानीभेरी माध्यमिक विद्यालय बलिबाङमा करार शिक्षकमा कार्यरत खड्का गत असार ४ गतेका दिन विद्यालयबाट घर फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा परेर गम्भिर घाईते हुनुभएको थियो । हाल उहाँको उपचार नेपाल मेडिसीठि अस्पतालमा भईरहेको छ । 

यसअघि पत्रकार तथा युवा अभियान्ता नारायण ओलीले शिक्षक खड्काको उपचारका लागि देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग आह्वान गरेर संकलित रकम घाईतेका परिवारलाई उपलब्ध गराउनु भएको छ । उपचारका क्रममा ठुलो धनराशी खर्च भईसकेको र कमजोर आर्थिक अवस्थाको कारण उहाँको थप उपचार प्रभावित हुन थालेपछि ओलीले सहयोग संकलन अभियान चलाउनुभएको थियो । 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्