सोसल मिडिया
गत वर्षको कात्तिक १७ गतेको भूकम्पले क्षती गरेका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका भित्रका तीन वटा वडाको सडक स्तरोन्नती गर्ने कार्य सुरु भएको छ ।
गाउँपालिकाको वडा नम्वर १, २ र ४ मा ६ किलोमिटर सडक स्तरोन्नती हुने भएको हो । भूकम्पको कारण जोखिमपूर्ण अवस्थामा रहेका परिवारको जीविकोपार्जन, क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्न नेपालस्थित संयुक्त राष्ट्र संघीय निकायहरुबाट संयुक्त पुनर्लाभ परियोजना अन्तर्गत सडक स्तरोन्नती सुरु भएको हो । यो परियोजना बेलायती राजदुताबासको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम मार्फत कार्यन्वयन भईरहेको यो परियोजनामा सप्रोस नेपालको प्राविधिक सहयोग रहेको छ । सामुदायिक पुर्वाधार उत्थानशिलता तथा खाद्य सुरक्षा अभिबृद्धि परियोजना अन्तर्गत सानीभेरी गाउँपालिकाका तीन वटा वडामा सडक स्तरोन्नती सुरु भएको छ ।
उक्त परियोजनामा जम्मा तीन करोड ३१ लाख १२ हजार ३७ रुपैया ५० पैसा बजेट रहेको बताईएको छ । जसअनुसार वडा नम्वर १ को चाइनाबगर पक्रैया बुकिचौर कृषि सडकमा एक करोड १३ लाख ९ हजार ८८६ रुपियाँ २५ पैसा, वडा नम्वर २ को गिठाकोट बसन्डाँडा पुर्तिमकाँडा कृषि सडकमा एक करोड ६ लाख १० हजार ४३४ रुपियाँ ५० पैसा र वडा नम्वर ४ को नायखोला खालचौर गाउँबारी टुरा कृषि सडकमा एक करोड ११ लाख ९१ हजार ७१६ रुपियाँ ७३ पैसा रहेको छ ।
७३० जनालाई रोजगारी
उक्त सडक स्तरोन्नतीका लागि ३ वटा वडामा ७३० जना लाभग्राही कायम गरी सडक स्तरोन्नतीमा खटिएका छन् । जसमा वडा नम्वर १ मा २४९ जना, वडा नम्वर २ मा २२६ जना र वडा नम्वर ४ मा २५५ जनाले काम गरिरहेका छन् । प्रति लाभग्राही ३६ हजार रुपियाँका दरले कामको आधारमा पारिश्रमिक आउने बताइएको छ । बुधबार स्तरोन्नती भइरहेको सडकहरुको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, इन्जिनियर, विश्व खाद्य कार्यक्रमका प्रतिनिधि, सप्रोस नेपालका प्राविधिक तथा प्रतिनिधि र सम्बन्धित वडाका वडा अध्यक्षहरुले संयुक्त रुपमा स्थलगत अनुगमन गनुभएको छ । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले भुकम्पले प्रभावित भएको समुदाय र क्षेत्रलाई पुनर्लाभ हुने गरी गरिएको कार्यक्रमबाट आफु प्रभावित भएको बताउनु भएको छ । वडा नम्वर ४ को खालचौरमा लाभग्राही र सरोकारवाला बीच भएको छोटो अन्तरकृयामा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष विष्टले भुकम्प प्रभावित क्षेत्रमा पालिका सरकारले गर्न नसकेको सहयोग विश्व खाद्य कार्यक्रमले गरिदिएकोमा धन्यबाद समेत व्यक्त गर्नुभयो ।
त्यस्तै पालिका उपाध्यक्ष कमला रोका पुनले लाभग्राहिहरुलाई आफ्नो वडाको सडक स्तरोन्नतीमा दत्तचित्तका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले आफुले गरेको कामबाट पारिश्रमिक पनि आउने र आफ्नो वडाको विकास पनि हुने भएकाले सबैले स्तरीय काम गर्न सल्लाह दिनुभयो ।
त्यस्तै सानीभेरी गाउँपालिकामा सामुदायिक पुर्वाधार उत्थानशिलता तथा खाद्य सुरक्षा अभिबृद्धि परियोजना अन्तर्गत तीन वटा कार्यक्रमको विभाजन गरिएको छ । पहिलो शसर्त कामका लागि नगद सहायता कार्यक्रम अन्तर्गत सडक स्तररोन्नती गरिदै छ भने दोस्रोमा लाभग्राहीलाई निशर्त रुपमा पनि नगद सहायता उपलब्ध गराएको छ ।
जसमा अपांगता भएका व्यक्तिहरु, एकल महिला, जेष्ठ नागरिक बालबालिका घरमुली नभएका असायहरु रहेका छन् । तेस्रोमाा सिपमुलक तालिमका लागि नगद सहयोग प्रदान गरिएको छ । उक्त कार्यक्रम सानीभेरी गाउँपालिकाका ११ वटै वडामा लागु गरिएको छ । पालिका भरी १ हजार ३२४ जना लाभग्राही कायम गरिएको बताईएको छ ।
यो परियोजना रुकुम पश्चिमका ३ वटा स्थानीय तह (आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका) मा सञ्चालन गरिएको छ।