कालिकोट जिप दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, घाईते सात जनाको हेलिकोप्टरमार्फत उद्धार

आइतबार, कात्तिक २५, २०८१

कालीकोट जिल्लाको पलाता गाउँपालिका -३ मा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दसकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता गाउँपालिका वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको मृत्यु भएको हो।

घटनास्थल विकट ठाउँमा भएकाले दुर्घटनाका मृतकको पहिचानका लागि समय लागेको बताईएको छ।

दुर्घटनामा घाइते सात जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। दुर्घटनामा घाइते भएका १३ जनामध्ये सात जनालाई हेलिकप्टरमार्फत् कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो। 

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भौगोलिक रूपमा निकै टाढा भएकाले प्रहरी पुग्न समेत समय लागेको बताउनुभयो। उहाँले बोलेरोमा २० जना यात्रु रहेको र त्यसमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो। सुरुमा सात जनाको उद्धार भएको र आवश्यकता अनुसार थप घाइतेको उद्धार हुने उहाँले बताउनुभयो।

गाउँपालिकाको वडा नम्बर ५ खिनबाट वडा नम्बर ९ थिर्पु जाँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप दिउँसो २ बजेर ३० मिनेटमा दुर्घटना भएको हो। 

यो पनि पढ्नुहोस ...

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्