कात्तिक २७ गतेदेखि 'डिग्रे मेला' लाग्ने

सोमबार, कात्तिक २६, २०८१

रुकुम पश्चिमको चर्चित डिग्रे मेला कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ । 

मुसिकोट नगरपालिका -५ थर्पुमा रहेको डिग्रे शाईकुमारी भगवती मन्दिर परिसरमा वैदिक कालदेखी सनातन रुपमा हरिबोधनी एकादशी देखी कार्तिक पुर्णिमाको दिनसम्म लाग्दै आएको डिग्रे मेला यस वर्ष कात्तिक २७ गतेदखि ३० गतेसम्म लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीका अनुसार हरिबोधनी एकादशीका दिन तुलसीको विवाहसहित शुद्ध रुपमा बिशेष पुजापाठ गरिने छ । २८ गतेका दिन द्वादशी, २९ गते एकैदिन त्रयोदशी र चतुर्दशी परेकोले यी दुई दिन मात्र बोकाको बलि दिन सकिनेछ । ३० गते पुर्णिमाको दिन पुजापाठसँगै भव्य मेला लाग्ने गर्दछ । 

पुर्णिमाको दिन मन्दिरमा टिका ग्रहण गर्नका साथै मेलामा आकर्षक नाचगान र विभिन्न झाँक्रीहरु प्रस्तुत हुने गर्दछन् ।  परम्परागत सगाल नाच यहाँको मुख्य आकर्षण रहेको हुन्छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले मेलामा असल गतिविधि गर्न, विकृतीजन्य काम नगर्न अनुरोध गरिएको बताउनुभयो । समितिले मेला व्यवस्थापनको लागि केहि स्टलहरु तोकिए बमोजिम राख्न र फोहोर व्यवस्थापन गर्न समेत अनुरोध गरेको छ । 

मन्दिर क्षेत्रका रुख विरुवा नकाट्न, मन्दिरको धारामा फोहोर नफाल्न समेत सूचना जारी गरिएको छ । यसका साथै मेलामा भैँसी राँगा ,कुखुरा, संगुर , बंगुरको मासु र अण्डा पुर्ण रुपमा निषेध गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्