यातायातमा मनपरी भाडा लिएको गुनासो, भाडादर निर्धारणका लागि समिति गठन

सोमबार, कात्तिक २६, २०८१

रुकुम पश्चिमका विभिन्न सडकखण्डमा सवारी साधन सञ्चालन गर्ने यातायात व्यवसायीहरुले यात्रुबाट आफू खुशि भाडा लिने गरेको गुनासो बढेको छ ।

गुनासो पश्चात जिल्ला प्रशासन कार्यालयले भाडादर निर्धारणका लागि एक समिति गठन गरेको छ । 

सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी.को अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको संयोजकतत्वमा सात सदस्यीय भाडादर निर्धारण समिति गठन गरेको छ । 

प्रमुख जिल्ला अधिकारी जी.सी.का अनुसार निर्धारित भाडादर भन्दा बढी रकम असुल्ने गुनासो बढेको र नयाँ तथा पुराना सडकहरुको स्तरोन्नती समेत भएको कारण पूर्व निर्धारित भाडादर परिमार्जन गरी नयाँ भाडादर कायम गर्न समिति गठन गरिएको हो । 

समितिमा यातायात व्यवस्था सेवा कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्लाका क्रिायशिल यातायात व्यवसायी तथा प्रा.लि.लाई सदस्यको रुपमा राखिएको छ । समितिले एक हप्ता भित्र प्रतिवेदन तयार पार्ने बताईएको छ । 

बैठकले तोकिएको भाडादर लिनुपर्ने, सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, दोहोरो टिकट काट्ने समस्यालाई नियन्त्रण गर्ने निणर्य समेत गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार पार्किङ व्यवस्थापन, ट्राफिक नियमको कडाईका साथ पालना, मालबहाक सवारी साधनहरुले साँझ बिहान मात्र आगमन र प्रस्थान गर्ने, तोकिएको स्थानमा मात्र यात्रु ओराल्ने र चढाउने निणर्य आजको बैठकबाट गरिएको छ ।

बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, यातायात व्यवसायीहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्