जिल्ला प्रशासनमा नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने भिड

अन्य कार्यालयको जनशक्ति समेत थप
मंगलबार, कात्तिक २७, २०८१

रुकुम पश्चिम । पछिल्ला केहि दिनदेखि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भिड लाग्ने गरेको छ । दसैं, तिहार सुरु भएसँगै सेवाग्राहीको संख्या बढेपनि केहि दिन यता  भिड नै लाग्ने गरेको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउनका लागि आउने सेवाग्राहीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । यसका साथै अन्य सिफारिसका लागि समेत आउने सेवाग्राहीको संख्या पनि बढेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार कार्यालय समय सुरु हुनुभन्दा पहिला नै सेवाग्राहीहरु गेटमा आईसकेका हुन्छन् । मंगलबार मात्र कार्यालयबाट ९२ वटा नयाँ र ३१ वटा प्रतिलिपि गरेर १२३ वटा नागरिकता जारी गरिएको छ । चाडपर्व सुरु हुनुभन्दा पहिला भने दैनिक १५ देखि २० वटा नागरिकता जारी हुने गरेको प्रशासनको भनाई छ । 

आज (मंगलबार) नै ६१ जनाको राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ भने १० वटा वितरण गरीएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले आज ४६ जनाको राहदानी सिफारिस गरिएको र आठ वटा वितरण गरिएको जनाउनुभयो । 

जिल्ला भन्दा बाहिर गएकाहरु चाडपर्वको बेला घर आएको मौकामा नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी लगायत अन्य सिफारिस बनाउने भएकोले भिड लाग्ने गरेको सहायक प्रजिअ रेग्मीले उल्लेख गर्नुभयो । 

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय अन्य कार्यालयबाट कर्मचारी मगाएर जनशक्ति थप गरेको छ । कारागार कार्यालयबाट र निर्वाचन कार्यालयबाट एक एक जना कर्मचारी मगाएर काममा लगाईएको छ भने प्रशासनकै अन्य शाखाका कर्मचारीहरुलाई समेत नागरिकता शाखामा खटाईएको छ । यसका साथै भिड व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी समेत मगाईएको बताईएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्