कांग्रेस आफ्नालाई बचाउने र अरुलाई फसाउने खेलमा छैन : प्रवक्ता महत

शुक्रबार, कात्तिक ३०, २०८१

नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले आफ्नालाई बचाउने र अरुलाई फसाउने खेलमा नेपाली कांग्रेस नरहेको बताउनुभएको छ ।  

एक सय दिने बिशेष सांगठनिक अभियान र उपनिर्वाचनको सन्दर्भमा रुकुमपश्चिम आएको अवसरमा प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. महतले देशमा सुशासन, स्वरोजगार र जनअपेक्षाको सम्बोधनका लागि नेपाली कांग्रेसले निरन्तर खबरदारीसँगै सरकारको ध्यानाकर्षण गराईरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले आफ्नो पार्टी र अर्काको भनेर विभेद गर्दैन, कानूनी शासन सुनिश्चतता, पारदर्शिताको पक्षमा कटिबद्ध छ ।’ 

सहकारी ठगी प्रकरण बारेमा उहाँले संसदिय समितिले तयार गरेको प्रतिवेदनको आधारमा अनुसन्धान सुरु भएको र अदालतले केहि आधार देखेर नै आरोपितहरुलाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उहाँले दोषि र निर्दोष अदालतले छुट्याउने भएकोले सडक र अदालत परिसरमा  भिड जम्मा गरेर प्रभावित पार्न खोज्न नहुने बताउनुभयो । कानून मिचेकाहरु कानूनी दायरामा आउनै पर्नेमा उहाँले जोड दिनुभयो । 

उपनिर्वाचनमा गठबन्धन नगर्ने कांग्रेसको केन्द्रिय नीति रहेको तर स्थानीय आवश्यकताको आधारमा गठनबन्धन गर्न सक्ने समेत उहाँले जनाउनुभयो । माओवादी द्वन्द्वपछि रुकुममा कमजोर बनेको कांग्रेस अब फेरि मजबुद बन्दै गईरहेको उहाँको भनाई छ । 

सरकार ठिकै बाटोमा हिंडेको छ

वर्तमान सरकार ठिकै बाटोमा हिडेंको उहाँको भनाई छ । डा. महतले सरकार सञ्चालनमा थप सहजता ल्याउन र समन्वय गर्न संयन्त्र निर्माण गरिएको समेत बताउनुभयो । सरकारले जनताका अपेक्षाहरु सम्बोधन गर्ने प्रयास गरिरहेको र सरकार बिरुद्ध अफवाह फैलाउने काम भएपछि निर्णय प्रक्रियामा अन्यौलता नहोस् भनेर नेकपा (एमाले) र कांग्रेस बिच संयन्त्र बनाएको उहाँले जानकारी दिनुभयो ।

सरकार फेरबदले हुने क्रम बढेसगै देशमा अनिश्चितता र अन्यौलता बढेकोले दुई ठुला दल एक ठाउँमा उभिएको उहाँले जनाउनुभयो । 

पूर्वअर्थमन्त्री समेत रहनु भएका डा. महतले शेयर बजार सकारात्मक बाटोमा रहेको जनाउनुभयो । शेयर बजारमा मौद्रिक नीति, लगानीको वातावरण लगायतको प्रभाव पर्नेभएकोले लगानीको दुरुपयोग नहोस् भनेर नियामक निकाय सजक हुनुपर्ने उहाँको भनाई छ । 

नेपाल प्रेस युनियन रुकुम पश्चिमका सभापति सुमित्रा केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव कर्ण बिकले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु, गोबिन्द भट्टराई र दिनेश कोईरला, जिल्ला सभापति प्रेम प्रकाश ओली, कांग्रेस नेता गोपाल जी जंग शाह लगायतका नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्