डिग्रे मेलाको अवसरमा आज मुसिकोटमा सार्वजनिक बिदा

शुक्रबार, कात्तिक ३०, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आज शुक्रबार सार्वजनिक बिदा दिईएको छ । नगरपालिकाको वडा नम्वर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिर परिसरमा लाग्ने डिग्रे मेलाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । 

प्रशिद्ध धार्मिक तिर्थस्थलमा कार्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने मेलाको अवसरमा नगर क्षेत्रमा बिदा दिने निर्णय भएको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । 

नगर प्रमुख केसीका अनुसार मेलाको अवसरमा नगरपालिकाका १४ वटै वडा कार्यालय, नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायतका सम्पूर्ण कार्यालयहरुलाई बिदा दिने निर्णय भएको छ । 

हरेक वर्ष हरिबोधिनी एकादशी देखि सुरु भएको मेला कार्तिक पूर्णिमाको दिनसम्म लाग्ने गर्दछ । यो वर्ष मङ्सिर ३० गते मुख्य मेला परेको छ । यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि मेलाको अवधिमा विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सख्या पनि धेरै हुन्छ । एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुने र पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । 

यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ । डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला हो । यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुमपूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्