डिग्रे मेला समापन : दुई दिनमा एक हजार बोकाको बलि, तिहारपछि दुई लाख पचास हजार दर्शनार्थी

शुक्रबार, कात्तिक ३०, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ थर्पुमा रहेको डिग्रे भगवती शाईकुमारी मन्दिर परिसरमा लागेको डिग्रे मेला आज शुक्रबार समापन भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला शुक्रबार कार्तिक शुक्ल पूर्णिमाको दिन सकिएको हो । 

मेलाको अन्तिम दिन मन्दिर परिसरमा भव्य मेला लागेको छ । मुसिकोट नगरपालिकाको साँख र आसपासका क्षेत्रबाट बाजागाजा सहित हात हातमा लठ्ठी लिएर आएका व्यक्तिहरुले मेलामा लठ्ठी नाच (सगाल) प्रदर्शन गरेपछि मेला सकिएको हो ।  

आज बिहानै देखि मेला भर्नका लागि रुकुम पश्चिमका गाउँ गाउँ तथा छिमेकी जिल्लाहरुबाट समेत मान्छेहरु मेला स्थलमा पुगेका थिए । यो वर्ष तिहारपछि मात्र करिब दुई लाख पचास हजार दर्शनार्थिहरुले मेला भर्नुका साथै मन्दिरमा पुजाआजा, दर्शन र बलि दिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीका अनुसार मेलाको अवसरमा २८ र २९ गते पुजापाठ र बलि चढाउने कार्य भएको थियो । यी दुई दिनमा करिब एक हजार वटा बोकाको बलि चढाईएको उहाँले जानकारी दिनुभयो । 

Digre-mela-2081-(5)-1731684630.jpgयस वर्ष तिहारको भोलिपल्ट देखि नै पुजापाठ र बलि चढाउनेहरुको भिड सुरु भएको थियो । हरिबोधनी एकादशीका दिन तुलसीको विवाहसहित शुद्ध रुपमा बिशेष पुजापाठ गरिएको थियो । २८ गतेका दिन द्वादशी, २९ गते एकैदिन त्रयोदशी र चतुर्दशी परेकोले यी दुई दिन मात्र बोकाको बलि दिईएको थियो । आज पुर्णिमाको दिन पुजापाठसँगै भव्य मेला लागेको हो । 

मेला अवधिभर मात्र रुकुम पश्चिम सहित रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट, दाङ, सुर्खेत लगायत जिल्लाका दर्शनार्थीहरु पुजाआजा, दर्शन, बलि दिन तथा मेला भर्न पुगेका छन् । 

Digre-mela-2081-(2)-1731684631.jpgमेलामा विभिन्न स्थानीय नाच तथा झाँकी र पराम्परागत सगाल नाच प्रदर्शन गरिएको थियो । डिग्रे शाइकुमारीको पुजापाठ, दर्शन तथा मन्दिरमा बलि चढाएमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रही आएको छ । 

मन्दिरमा वर्षैभरि पुजापाठ तथा दर्शन गर्न मिल्छ । तर हरेक वर्षको हरिबोधनी एकादशी देखि कार्तिक पूर्णिमासम्मको सयमलाई भने विशेष मानिन्छ ।

Digre-mela-2081-(4)-1731684627.jpg

Digre-mela-2081-(6)-1731684623.jpg

Digre-mela-2081-(3)-1731684623.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज ‘क्रिसमस डे’ मनाइँदै
शुक्रबार, कात्तिक ३०, २०८१

रुकुमकोटमा संचालित महायज्ञ सम्पन्न
शुक्रबार, कात्तिक ३०, २०८१