सोसल मिडिया
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिर परिसरमा हरेक बर्षको हरिबोधनी एकादशी देखि कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म भव्य मेला लाग्छ । यसै अवधिमा मात्र वर्षेनी हजारौ दर्शनार्थी आईपुग्छन् । मनले आँटेको पाउन उनीहरु डिग्रे मन्दिर पुग्ने गरेका हुन् ।
यो वर्ष पनि कात्तिक २७ गतेदेखि ३० गतेसम्म मेला लागेको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार कर्णालीको प्रशिद्ध धार्मिक र पर्यटकिय केन्द्रका रुपमा रहेको यस मन्दिरमा पुजापाठ गर्न र मेला भर्न आउनेहरुको छुट्टै खालको विश्वास रहेको छ । अध्यक्ष केसीले भन्नुभयो, “मनले चिताएको पुरा हुने विश्वास छ, निसन्तानहरुले सन्तान प्राप्तिको भाका गर्दै पुजा गर्नुहुन्छ, आकर्षक र रमणीयस्थल भएकोले पर्यटकिय गन्तव्य पनि हो ।”
एउटा किंवदन्ती छ, “थर्पु गाउँका गौतमहरुले चराउन लगेका गाई घर फर्कन मानेन । साईकुमारी भगवती देवीले दुध चढाउन आग्रह गर्नुभयो । दूध चढाइएपछि मात्र गाईलाई घर ल्याउन सकिएको हो ।” यहि शक्ति र आस्थाको कारण हरेक दिन गाईको दुध देवीको लागि र हरेक एक वर्षमा देवीको वाहन बाघको लागि बोका बली दिनुपर्ने चलन सुरु भयो । देवीको सुरक्षाको लागि लठ्ठी नाच समेत नाच्न थालियो । यो नाच मेलाको मुख्य आकर्षण पनि हो ।
मुसिकोट नगरपालिका –७ साँख गाउँबाट आउने सगालहरुको लठ्ठी नाचपछि औपचारिक रुपमा डिग्रे मेला सकिन्छ । सगालहरु मन्दिर परिक्रमा गरेर बाजागाजासहित मन्दिर परिसरको चवरमा लठ्ठी नाच गर्छन् । शाईकुमारी देवीको सुरक्षाको लागि यो नाच नाच्ने गरेको बताइन्छ ।
हरेक वर्ष दर्शनार्थीहरु बाक्लिन थालेको मन्दिर व्यवस्थापन समितिको भनाई छ । टाढाका मान्छेहरु पनि एक, दुई वर्ष बिराएर भए पनि आउँछन् । रुकुमपश्चिमका साथै रुकमुपूर्व, सल्यान, जाजरकोट, दाङ, रोल्पा, बाँके, सुर्खेत लगायतका जिल्लाबाट दर्शनार्थीहरु यहाँ आईपुग्छन् ।
डिग्रेमा धार्मिक मेला सुरु भएको आधिकारिक जानकारी कतै रहेको पाइन्न । तर मन्दिरमा वि.सं. १६४१ सालको घन्ट भेटिएको छ । मन्दिरमा पूजाअर्चना, दर्शन तथा मेला भर्ने काम भने त्यसअघिदेखि नै भएको मानिन्छ । साईकुमारी भगवती देवीकै चाहनाबमोजिम मेला सुरु भएको किंवदन्ती छ । मन्दिर नजिकै पानीका धारा रहेका छन् । मेलामा मान्छे बढेसँगै धारामा पानी पनि बढ्ने विश्वास रहिआएकोछ ।
यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि मेलाको पाँच दिन विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सख्या पनि धेरै हुन्छ । एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुने र पूर्णिमाको दिन भव्य मेला लाग्छ । एकादशीका दिन र पूर्णिमाको दिन बलि भने चढाउन मिल्दैन । मेलामा विभिन्न झाँकिहरु प्रस्तुत गरिन्छ । मयुर, सिंगारु, र पैसेरु नाचका साथै काठेपिङले मेलामा उमंगको माहौल थपेको हुन्छ ।