सोसल मिडिया
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पछिल्ला केहि दिनदेखि सेवाग्राहीको भिड लाग्ने गरेको छ । दसैं, तिहार सुरु भएसँगै सेवाग्राहीको संख्या बढेपनि केहि दिन यता भिड नै लाग्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउनका लागि आउने सेवाग्राहीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । यसका साथै अन्य सिफारिसका लागि समेत आउने सेवाग्राहीको संख्या पनि बढेको छ । सेवाग्राहीको चाप बढेपछि अन्य सरकारी कार्यालयको जनशक्ति समेत प्रशासनमा थप गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार कार्यालय समय सुरु हुनुभन्दा पहिला नै सेवाग्राहीहरु गेटमा आईसकेका हुन्छन् । आज मङगलबार दिन पनि प्रशासनको प्रवेशद्वारमा बिहानै देखि सेवाग्राही आएर लाईन लागेका छन् ।
पछिल्लो केहि दिनयता दैनिक एक सय बढी नागरिता जारी हुने गरेको प्रशासनको तथ्यांकमा रहेको छ । त्यससँगै राष्ट्रिय परिचय पत्र, राहदानी लगायत अन्य काममा लागि आउने सेवाग्राहीहरु पनि बढेको बताईन्छ । चाडपर्व सुरु हुनुभन्दा पहिला भने दैनिक १५ देखि २० वटा नागरिकता जारी हुने गरेको प्रशासनको भनाई छ ।
जिल्ला भन्दा बाहिर गएकाहरु चाडपर्वको बेला घर आएको मौकामा नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी लगायत अन्य सिफारिस बनाउने भएकोले भिड लाग्ने गरेको सहायक प्रजिअ रेग्मीले उल्लेख गर्नुभयो । सोमबार सार्वजनिक बिदा भएकोेले पनि आज बिहानै देखि सेवाग्राही कार्यालयको गेटमा आउनु परेको उहाँको भनाई छ ।
सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालयले अन्य कार्यालयबाट कर्मचारी मगाएर जनशक्ति थप गरेको छ । कारागार कार्यालयबाट र निर्वाचन कार्यालयबाट एक/एक जना कर्मचारी मगाएर काममा लगाईएको छ भने प्रशासनकै अन्य शाखाका कर्मचारीहरुलाई समेत नागरिकता शाखामा खटाईएको छ ।
यसका साथै भिड व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी समेत थप गरिएको छ । सेवाग्रहीहरुको चाप अझै बढेमा जिल्ला हुलाक लगायत कामको चाप कम हुने अन्य कार्यालयबाट कर्मचारी थप गरिने प्रशासनले जनाएको छ ।