सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –३ मा लागेको बेल्टापु बेलामा सञ्चालित काठे पिङ खेल्ने क्रममा मंगलबार दिउँसो एक जना घाईते भएका छन् ।
बेल्टापुस्थित खेलमैदानमा आठबिसकोट नगरपालिका १० झिन्चौरका प्रेम बहादुर थापाले सञ्चालन गरेको पिङ खेल्ने क्रममा लडेर आठबिसकोट नगरपालिका १३ घेत्मा निवासी ससे पुनकी छोरी १४ वर्षीया रुपा पुन घाईते हुनुभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार पिङबाट जमिनमा बजारिएकी रुपाको टाउकोमा चोट लागेको छ । घाईते रुपालाई उपचारका लागि तत्काल सानीभेरी गाउँपालिका ७ छोटेबगरमा रहेको गाउँपालिका अस्पतालमा लिईएकोमा अहिले थप उपचारको लागि चौरजहारी अस्पताल रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।
बेल्टापुमा गत मंसिर २ गतेदेखि परम्परागत मेला सञ्चालित छ । यस अवसरमा विभिन्न खेलकुदका कार्यक्रमका साथै साँस्कृतिक प्रस्तुतिहरु राखिएको थियो । मुख्य मेला हिजो सोमबारका दिन भएतापनि खेलकुद लगायतका कार्यक्रमहरु आज पनि सञ्चालित रहेको बताईएको छ ।