सोसल मिडिया
रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकामा रिक्त उपाध्यक्ष र वडा नम्वर २ को उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले बिचमा गठबन्धन भएको छ । उपाध्यक्ष पदमा एमालेकी जिल्ला उपसचिव केशकुमारी तुलाचन उम्मेदवारी छ । तर उहाँ रुख चिन्हबाट चुनाव लड्दै हुनुहुन्छ ।
कांग्रेस एमालेकै गठबन्धनमा वडा नम्बर २ मा वडा अध्यक्षका लागि एमालेका जीवन रोका सूर्य चुनाव चिन्हबाटै चुनाव लड्ने सहमति भएको थियो । तर, रोकाले पनि माओवादी उम्मेदवारलाई समर्थन गर्दै बुधबार उम्मेदवारी फिर्ता लिनुभएको छ ।
वडा अध्यक्षका लागि एमालेबाट उम्मेदवारी दिनुभएका जीवन रोका र स्वतन्त्र उम्मेदवारी दिनुभएका शुक्रराज विकले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्र उम्मेदवार जगत घर्ती निर्विरोध वडा अध्यक्ष निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एउटा मात्र उम्मेदवारी कायम रहेकाले घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
एकातिर सत्तारुढ दलको चुनावी गठबन्धन टिम चुनावी प्रचारमा, अर्कोतिर उम्मेदवारले प्रतिद्वन्दीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता ! यस्तो खबर सुनेपछि गठबन्धनको टिम अक्क न बक्कको अवस्थामा पुगेको बताईएको छ ।
नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणी गौतमले भने आफूहरु चुनाव प्रचारमै रहेको बेला आफ्ना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको खबर आएको बताउनुभयो । गठबन्धनका नेता कार्यकर्ताहरु उपाध्यक्षका उम्मेदवार तुलाचनसहित वडा नम्वर ८ को चारगाउँमा चुनावी भेटघाट तथा घरदैलो अभियानमा रहेको बेला वडा नम्वर २ का उम्मेदवारले माओवादीलाई समर्थन गदै उम्मेदवारी फिर्ता लिएको उहाँले सामाजिक सञ्जाल फेसबुकबाटै जानकारी गराउनुभएको छ ।
पार्टीको सिफारिसमा उम्मेदवारी दर्ता हुने तर फिर्ता लिदा पार्टीको बेवास्ता हुने व्यवस्था प्रति भने गौतमको आक्रोश छ । पार्टीको निर्णयको आधारमा उम्मेदवारी दर्ता गराएका जिवन रोकाले पार्टीको निर्देशन विपरित आफ्नो उम्मेदवारी फिर्ता लिएको गौतमले उल्लेख गर्नुभएको छ । टिकट दिदा पार्टीको अनिवार्य सिफारिस चाहिने तर फिर्ता लिन पार्टीको अनुमति नचाहिने निर्वाचन आयोगको व्यवस्थाका कारण यो अप्रिय घटना हुन पुगेको अध्यक्ष गौतमको भनाई छ ।
पार्टी निर्देशन विपरीत उम्मेदवारी फिर्ता लिने जिवन रोकालाई हाल पार्टी कमिटीका सबै जिम्मेवारी र संगठित सदस्यता समेत नरहने गरि निलम्बनको लागी आजै माथिल्लो कमिटीमा सिफारिस गरेको गौतमले जानकारी दिनुभयो ।
उम्मेदवारी फिर्ता लिन दवाव दिने पक्ष तथा व्यक्तिहरुको समेत पहिचान भैसकेको बताउँदै उहाँले यसको पनि लेखाजोखासहित हिसाब हुने जनाउनुभएको छ । यस घटनामा पार्टीका अन्य कुनै व्यक्तिको संलग्नता रहेको देखिन आएमा थप कारवाहीको दायरामा ल्याईने एमाले रुकुम पूर्वले जनाएको छ ।