भूकम्पले भत्केका रुकुमका १२ विद्यालय एडिबीको सहयोगमा पुनर्निर्माण हुँदै

बिहीबार, मंसिर ६, २०८१

गत वर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण क्षती भएका रुकुम पश्चिमका केहि विद्यालयमा यस वर्ष नयाँ भवन निर्माण हुने भएका छन् । भूकम्पले भत्केका मध्य १२ वटा भवनहरु एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण हुने भएका हुन् । 

शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी डायमण्ड पुनका अनुसार आठबिसकोट नगरपालिकाका सात वटा, सानीभेरी गाउँपालिकाका तीन वटा र मुसीकोट नगरपालिकाका दुई वटा विद्यालयमा नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ । 

आठबिसकोट नगरपालिका वडा नम्वर ४ को ज्ञानोदय मावि, वडा नम्वर ६ को सुर्योदय मावि, वडा नम्वर ९ को बालकल्याण मावि, वडा नम्वर १० को जनता मावि, वडा नम्वर ११ को नेपाल राष्ट्रिय मावि र जनकल्याण मावि र वडा नम्वर १४ को आदर्श मावि एडिबीले निर्माण गर्ने भएको हो ।

त्यसैगरी सानीभेरी गाउँपालिका १ को शीतल मावि पक्रैया, भेरीदोभान मावि चाईनाबगर र वडा नम्वर ४ को सानीभेरी मावि बलिबाङ, मुसीकोट नगरपालिका १२ को जनकल्याण मावि काँशपोखरी र वडा नम्वर १३ मा रहेको महेन्द्र मावि चौतारा पनि यस चरणमा पुनर्निर्माण हुने भएका छन् । 

एडिबीले भवन निर्माणका लागि माग गरेको मापदण्ड, क्षती र आवश्यकताको आधारमा यी विद्यालयहरु छनौट भएका हुन् । छनौट भएका यी विद्यालयहरुको पुननिर्माणको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बसन्त कोईरालाको नेतृत्वमा आएको एडिबीका प्रतिनिधिसहित सरोकारवाला निकायको टिमले स्थलगत निरीक्षण समेत गरेको छ ।  

आठबिसकोट नगरपालिका प्रमुख रबि केसीका अनुसार आफ्नो पालिकामा दुई वटा विद्यालय भवन निर्माणका लागि टेण्डर समेत भईसकेको छ भने बाँकि पाँच वटाको केहि दिनमै टेण्डर गर्ने तयारी रहेको छ । नगर प्रमुख केसीले काम सुरु भएको १८ महिना भित्रै सात वटा विद्यालय निर्माण भईसक्ने बताउनुभयो ।

आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमका अनुसार नक्शा पास र आवश्यक समन्वयको काम पालिकाबाट हुनेछ भने अन्य सबै काम एडिबीबाटै हुनेछ । एडिबीले आवश्यकताको आधारमा १२ देखी १८ वटा कक्षा कोठा रहेका भवनहरु बनाउन लागेको उहाँले जनाउनुभयो । यी सबै भवनहरुमा शौचालय र घेराबार समेत निर्माण गरिने गौतमले उल्लेख गर्नुभयो ।  

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार भूकम्पको कारण ४९ विद्यालय पूर्ण रुपमा क्षती भएका छन् भने २१३ वटा आंशिक क्षति भएका छन् । अधिकांश विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र निर्माण गरेर पठनपाठन नियमित भईरहको छ भने कतिपय विद्यालयमा चर्किएकै भवनमा बालबालिका पठाउने गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्