सोसल मिडिया
तत्कालिन रुकुम, जाजरकोट, सल्यान लगायतका जिल्लालाई लक्षित गरेर वि.सं. २०२८ सालबाट सञ्चालनामा आएको चौरजहारी विमानस्थल अहिले बन्द अवस्थामा रहेको छ । धावनमार्ग कच्ची हुँदा सञ्चालनमा रहेको विमानस्थल कालोपत्रे गरिएपछि बन्द भएको छ ।
चौरजहारी नगरपालिका –१ मा रहेको यो विमानस्थलमा २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्गमा कालोपत्रको काम भएको थियो । कालोपत्रे भएपछि केहि समय अनियमित रुपमा जहाज आउने गरेतापनि कोरोना महामारी यता विमानस्थल ठप्प रहेको छ । पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपिँयाको लागतमा धावनमार्ग कालोपत्रे भएको थियो ।
चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले चार दशकसम्म कच्ची धावनमार्गमा जहाज सञ्चालन भएको तर कालोपत्रेपछि बन्द हुनु दुर्भाग्य भएको बताउनुभयो । राज्यको करोडौको लगानीको सदुपयोग नभएको र सर्वसाधारणहरु हवाई सेवाबाट बिमुख हुनुपरेको उहाँको भनाई रहेको छ ।
नगर प्रमुख वादीले नेपाल वायु सेवा निगम र नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको तर वेवास्ता भएको बताउनुभयो । नीजि क्षेत्रका जहाज भएपनि सञ्चालन भएमा यहाँका सर्वसाधारण तथा बिरामीहरुलाई सहज हुने उहाँले उल्लेख गर्नुभयो ।
जहाजको अभाव भन्दै उडान तालिका नै नराखेपछि विमानस्थल बन्द अवस्थामा पुगेको हो । नेपाल वायु सेवा निगम चौरजहारीका तत्कालिन निमित्त प्रमुख सुरेन्द्र नेपालीका अनुसार कालोपत्रेपछि छिटफुट उडान भएतापनि कोरोना महामारी सुरु हुँदा माथिल्लो निकायबाटै उडान बन्द गरिएको हो ।
उडानको तालिका नै कटौती गरेर नेपाल वायु सेवा निगमको पश्चिमाञ्चल केन्द्र नेपालगञ्जबाट आएको टोलीले कार्यालय समेत उठाएको उहाँले जानकारी दिनुभयो । धावनमार्ग कच्चीहुँदा चौरजहारीबाट नेपालगञ्ज र काठमाडौं हप्तामा एकएक दिन जडान हुँदै आएको थियो ।
जहाज आउन छोडेपछि विमानस्थल अहिले झाडीले घेरिएको छ । कालोपत्रे गरिएको धावनमार्ग वाहेक विमानस्थलको अधिकांश भाग अहिले झाडिले छोपिएको छ । विमानस्थल विस्तारै जङगल बन्न थालेको स्थानीयको दुःखेसो रहेको छ ।
चौरजहारी नगरपालिका –१ का मोते गिरीले नियमित सञ्चालन भईरहेको एर्पोट बन्द हुँदा जनतालाई अप्ठ्यारो परिरहेको बताउनुभयो । जहाज नआउँदा कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उहाँको भनाई छ ।
यसका साथै बिरामीहरुलाई सुविधासम्पन्न अस्पतालमा समयमै लिन असहज भईरहेको समेत गिरीले उल्लेख गर्नुभयो । विमानस्थल सञ्चालनका लागि आवश्यक पहल नपुगेको समेत उहाँको बुझाई रहेको छ ।