जोखिम अवस्थाका ३७० बालबालिकालाई साढे १६ लाख सहयोग

सोमबार, मंसिर १०, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जोखिममा रहेका बालबालिकाहरुलाई करिब साढे १६ लाख रुपियाँ सहयोग प्रदान गरेको छ । नगरपालिकाले युनिसेफ र सोसेक नेपालसँगको सहकार्यमा नगरका ३७० बालबालिकाहरुलाई १६ लाख ४८ हजार नगद आर्थिक सहायता प्रदान गरेको जनाएको छ । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले दिनुभएको जानकारी अनुसार जोखिममा परेका बालबालिकाहरुको पारिवारिक आर्थिक अवस्था सुदृढ र शिक्षामा पहुँच अभिवृद्धिका लागि आर्थिक सहायता प्रदान गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण पढाइ छोड्नुपर्ने अवस्था आउन नदिन र बालबालिकाहरुलाई विद्यालय पठाउनको लागि प्रोत्साहन गर्न नगद सहायताको कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार नगरपालिका क्षेत्रभित्रका ३४२ जना जोखिम अवस्थाका बालबालिकाहरुलाई चार हजारका दरले १३ लाख ६८ हजार नगद सहायता प्रदान गरिएको छ । त्यसैगरी आमावुवा गुमाएका तथा अति विपन्न अवस्थाका २८ जना बालबालिकाका परिवारहरुलाई १० हजारका दरले आयआर्जन क्रियाकलाप सञ्चालन गर्न दुई लाख ८० हजार नगद आर्थिक सहायता गरिएको हो ।

जोखिममा परेका बालबालिकाहरुले प्राप्त गर्ने उक्त रकम सोसेक नेपालले बैङ्क खातामार्फत उपलब्ध गराएको हो । आर्थिक सहायताको रकमबाट खाद्यन्न, झोला, विद्यालय पोसाक, कापी, कलम लगायतका सामाग्री खर्च गर्न सकिने बताइएको छ । उक्त सहयोग रकमले कतिपय बालबालिकाको परिवारले कुखुरापालन सञ्चालन गरेको बताईएको छ भने  कतिपयले चिसोको लागि न्यानो कपडा खरिद गरेका छन् । 

चौरजहारी नगरपालिका क्षेत्रमा विशेष गरी वादी, कुमाल, दलित परिवारका बालबालिकाहरु जोखिममा रहेका छन् । बालबालिकाहरुमा गरिएको नगद आर्थिक सहायताले विद्यालय शिक्षाका लागि प्रोत्साहन गर्ने र विद्यालय छोड्ने दरमा कमी आउने विश्वास नगरपालिकाले गरेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्