भूकम्प प्रभावित विद्यालयमा बालमैत्रीस्थलका लागि रेडक्रसको सहयोग

मंगलबार, मंसिर ११, २०८१

रुकुम पश्चिमका भूकम्प प्रभावित विभिन्न विद्यालयहरुमा बालमैत्रीस्थल व्यवस्थापनका लागि विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले जिल्लाका विभिन्न ६ वटा विद्यालयमा बालमैत्रीस्थल व्यवस्थापनका लागि शैक्षिक तथा खेलकुद सामाग्रीहरु उपलब्ध गराएको हो । 

रेडक्रसद्वारा सञ्चालित कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत भूकम्पबाट बढी प्रभावित भएका विद्यालयहरुमा सामाग्रीहरु हस्तान्तरण गरिएको हो । रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्रीको माध्यामबाट मनोसामाजिक रुपमा स्वस्थ राख्नका लागि विभिन्न शैक्षिक तथा खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो । 

उहाँका अनुसार त्रिवेणी गाउँपालिकामा रहेको जनहित आधारभूत विद्यालय चौतारा, हिमालय जनता माध्यमिक विद्यालय नुवाकोट र बालकल्याण माध्यमिक विद्यालय टोड्केमा बालमैत्रीस्थल निर्माणका लागि शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

त्यसैगरी सानीभेरी गाउँपालिकाको नवचन्द्र ज्योती आधारभूत विद्यालय, सानीेभेरी माध्यमिक विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय चाख्लिमेलामा पनि उक्त सामाग्रीहरु उपलब्ध गराईएको रेडक्रसले जनाएको छ ।

प्रतिविद्यालय वाद्यमादन, खेलकुद, पठनपाठन लगायतका विभिन्न ४७ प्रकारका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमका सभापति रमा गौतमसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु लगायतको टोली सम्बन्धित विद्यालयमै पुगेर सामान हस्तान्तरण गरेको हो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्