सोसल मिडिया
भूकम्प प्रभावित क्षेत्रका महिला कालिगडहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि क्षमता अभिबृद्धि गरिएको छ । रुकुम पश्चिमको मुसिकोटमा जाजरकोट र रुकुम पश्चिमका २६ जना कालिगडहरुलाई सात दिने क्षमता अभिबृद्धि तालिम दिएर सीप सिकाईएको हो ।
तालिम मार्फत २२ जना महिला र चार जना पुरुष कालिगडहरुको क्षमता अभिबृद्धि गरिएको बताईएको छ । रुकुम पश्चिमका ६ स्थानीय तहका १२ जना र जाजरकोटका सात स्थानीय तहका १४ जना कालिगडहरु उक्त तालिममा सहभागी रहेका थिए ।
बेलायती राजदुताबास (एफसीडियो) को सहयोग तथा सहरी विकास मन्त्रालय भवन विभागको आयोजनामा सञ्चालित उक्त तालिम अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को संयोजनमा सञ्चालन भएको हो । संयुक्त पुर्नलाभ कार्ययोजना अन्तर्गत सञ्चालित उक्त तालिमको सहजिकरण भवन विभागका ईन्जिनियरद्वय देवेन्द्र देव खनाल र माधव कटुवालले गर्नुभएको थियो ।
कालिगडहरुको क्षमता अभिबृद्धि गरेर भूकम्प प्रतिरोधी घर निर्माणको सीप प्रदान गर्ने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको थियो । तालिममा सुरक्षित भवन निर्माण मापदण्डको जानकारी गराउनुका साथै आधुनिक निर्माण विधि बारेमा जानकारी गराईएको थियो । तालिमले कालिगडहरुमा रहेको सीपलाई विकास गरेर दक्ष बनाएको र स्थानीयस्तरमै रोजगार प्राप्त गरेर आयआर्जनका काममा जोडिनलाई बाटो देखाएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
तालिममा सहभागी जाजरकोटको कुसे गाउँपालिका –५ की भावना शाहीले आफूमा रहेको सीप विकास गर्न पाउँदा खुशि लागेको बताउनुभयो । गाउँमा दक्ष कामदारहरु अभाव रहेको बेला महिलाहरुलाई पनि दिर्घकालिन पुनर्निर्माणको काममा जोड्नलाई दिईएको तालिम प्रभावकारी भएको उहाँको भनाई छ । आफ्नो, अन्य छिमेकीको घरका साथै विद्यालय, स्वास्थ्य संस्थाको सुरक्षित भवन निर्माणमा आफ्नो सीप उपयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –६ की लिला ओलीले महिलाहरुलाई कालिगडको रुपमा काम गर्न असहज लाग्ने भएतापनि तालिम पाएपछि अब सुरक्षित आवास निर्माणमा लाग्ने आत्मविश्वास बढेको बताउनुभयो । तालिमबाट भूकम्प प्रतिरोधी घर बनाउन सिकेको ओलीले जनाउनुभयो ।
भूकम्पले क्षति गरेका संरचनाहरुको पूनर्निर्माण कार्यका लागि जनशक्ति तयार गर्न र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न तालिम थप प्रभावकारी हुने बताईएको छ ।