पुथा उत्तरगंगामा उपनिर्वाचनको तयारी पूरा

शनिबार, मंसिर १५, २०८१

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि भोलि हुने उपनिर्वाचनको सबै तयारी पुरा भएको छ । 

निर्वाचन आयोगका अनुसार सबै मतदान केन्द्रमा सर्वदलीय बैठक राखेर शान्तिपूर्ण निष्पक्ष र व्यवस्थित मतदान सुनिश्चिका लागि सबै व्यवस्था पूरा गरिएको छ ।

सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार यस पालिकामा यस पालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र छन् । जसमा ५ हजार ६ सय ७१ जना पुरुष र ५ हजार ५ सय ९ जना महिला गरी ११ हजार एक सय ८० जना मतदाता छन् ।

निर्वाचनमा कुनै बाधा नपुगोस् भनेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, र गर्भवती महिलाहरूका लागि प्राथमिकता प्रदान गर्न विशेष व्यवस्था मिलाइएको सुवेदीले जानकारी दिनुभयो। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

गत भदौ २८ गते बागलुङको भङखानीमा भएको सवारी दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रा बुढाको निधन भएको थियो । सोही रिक्त पदपूर्तीका लागि आयोगले यहाँ उपनिर्वाचन गर्न लागेको हो । 
रिक्त रहेको २ नम्बर वडा अध्यक्ष पदमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित घोषणा हुनभएको छ । उपाध्यक्षका लागि दलहरूबीच प्रतिस्पर्धा छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्