सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -५ को वडा अध्यक्ष पदका लागि आज भईरहेको उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।
वडा नम्वर ५ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको मतदानस्थलमा बिहान ७ः२५ बजेबाट मतदान सुरु भएको हो ।
सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाका अनुसार एक मतदानस्थलमा दुई केन्द्र बनाएर मतदान सुरु गरिएको छ । मतदान केन्द्र (क) मा सात सय र केन्द्र (ख) मा ७३४ मतदाता गरेर यहाँ जम्मा एक हजार ४३४ जना मतदाता रहेका छन् । मतदातामध्ये ७४४ पुरुष र ६९० महिला रहेका छन् ।
मतदान केन्द्र (क)मा ८५ वर्षीय गम्मरसिं कुसारीले पहिलो मतदान गरेसँगै मतदान सुरु भएको कोईरालाले जानकारी दिनुभयो । अहिले शान्तपूर्वक मतदान भईरहेको छ ।
भयरहित र निष्पक्ष रुपमा वडाको मतदान सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक वडाध्यक्ष पदका लागि २ उम्मेदवार बिच प्रतिस्पर्धामा रहेको छ । नेपाली कंँग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएका अलबहादुर खत्रीको गत वर्ष उपचारको क्रममा निधन भएको थियो ।