पुथामा खस्यो ५३.०५ प्रतिशत मत, भोलिबाट मतगणना हुने

आइतबार, मंसिर १६, २०८१

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५३.०५ प्रतिशत मत खसेको छ ।

१४ वटै वडाको २२ मतदान केन्द्रमा ११ हजार १८० जना मतदाता रहेकोमा पाँच हजार ९३१ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  मतदान गर्नेमा तीन हजार ९६ जना महिला र दुई हजार ८३५ जना पुरुष रहेका छन् । 

सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार २२ वटै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

सबै मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत पेटिका ल्याईएपछि सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिने बताईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय वडा नम्वर १० को तकमा रहेको छ । भौगोलिक दुरीको कारण सोमबार बिहानसम्म सबै मत पेटिका आईपुग्ने बताईएको छ । त्सपछि मात्रै मतगणना सुरु हुनेछ । 

गत भदौ २८ गते काठमाडौं देखि गृह जिल्ला रुकुम पूर्व फर्किंदै गर्दा बाङ्गलुङमा गाडी दुर्घटना हुँदा उपाध्यक्ष भूपेन्द्रा बुढा, उहाँकी आमा गोपीमाया र वडा नम्बर २ वडा अध्यक्ष जसबहादुर सिर्पालीको निधन भएको थियो । त्यसैले त्यहाँ उपनिर्वाचन भएको हो । २ नम्बर वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेकाले उपाध्यक्ष पदका लागि मात्रै मतदान भएको हो । 

माओवादी केन्द्रको बलियो पकड मानिने पुथाउत्तरगंगामा कांग्रेस र एमालेले तालमेल गरेका छन् । नेकपा एमालेकी केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवार बन्नु भएको छ भने नेकपा माओवादी केन्द्रले भने नरपुरा बुढालाई उम्मेदवार बनाएको छ । नरपुरा बुढा दिवंगत उपाध्यक्ष भुपेन्द्रा बुढाकी दिदी हुनुहुन्छ । माओवादी उम्मेदवारलाई नेकपा (एकिकृत समाजवादी) ले सहयोग गरेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्