सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थलबाट सबै मतपेटिका समयमै ल्याएर मतगणना सुरु गरेको जनाएको छ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको एक मतदानस्थलमा दुई केन्द्र बनाएर मतदान भएको थियो । घापागाारबाट लाखुरीबोटस्थित वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुगेपछि सर्वदलिय बैठक बसेको र त्यसपछि मतगणना सुरु गरिएको सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै मतदान केन्द्रको मतपेटिका एकै साथ पारेर मतगणना सुरु गरिएको छ । वडा नम्वर ५ मा भएको उपनिर्वाचनमा ७९.९२ प्रतिशत खसेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल एक हजार ४३४ मतदाता मध्य एक हजार १४६ जनाको मत खसेको हो । ६०६ जना महिला र ५०४ जना पुरुषले मतदान गरेको सहायक मतदान अधिकृत कोईरालाले जानकारी दिनुभयो ।
यस वडामा रिक्त वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवार बिच प्रतिस्पर्धा रहेको छ । नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ । आजै मतपरिणाम आईपुग्ने बताईएको छ ।