रुकुममा माओवादीको आक्रमणबाट कांग्रेसका तीन कार्यकर्ता घाईते 

सोमबार, मंसिर १७, २०८१

रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताको आक्रमणमा परेर तीन जना नेपाली कांग्रेसका कार्यकर्ता घाईते भएका छन् । 

आईतबार राती सानीभेरी गाउँपालिका -५ को घ्युढुंगामा भएको आक्रमणमा परेर कांग्रेस कार्यकर्ताहरु वडा नम्वर ५ का अजय बाँठा मगर, पुष्प पुन मगर र किरण पुन मगर घाईते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घाईते तीन जनाको उद्धार गरेर सदरमुकामस्थित साझा मुराल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाईतेहरुको हात, टाउको, कान र शरिरका अन्य भागमा चोट लागेको बताईएको छ । 

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले गएराती नै दुई जना माओवादी कार्यकर्ता पक्राउ गरेको जनाएको छ । प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार सानीभेरी गाउँपालिका -३ का बालकुमार नकाल र चौरजहारी नगरपालिका -४ का प्रदिप मल्ललाई नियन्त्रणमा लिईएको छ।

उहाँका अनुसार सानीभेरी ५ मा भएको उपनिर्वाचनको मतगणनापछि फर्कदै गरेका दुई पार्टीका कार्यकर्ताहरु बिच बाटोमा मोटरसाईकलको हेलमेट फालिएको बिषयमा विवाद हुँदा झडप भएको थियो । 

नेपाली कांग्रेस रुकुम पश्चिमले भने चुनावमा पराजित भएपछि माओवादीहरुले हतियारसहित कांग्रेस कार्यकर्ता माथि आक्रमण गरेको जनाएको छ । जिल्ला सभापति प्रेम प्रकाश ओलीले माओवादी उम्मेदवारको हार निश्चित भएपछि स्वीकार गर्न नसकेर आतंककारी हर्कत देखाएको बताउनुभयो । उहाँले घटनामा संलग्नलाई कारबाहि माग गर्नुभएको छ । 

आईतबार सानीभेरी गाउँपालिका ५ मा भएको वडा अध्यक्ष पदको उपनिर्वाचनमा नेपाली कांग्रेसका मोतिराम खत्री निर्वाचित हुनुभएको थियो । उहाँले ५९० मत ल्याँदा उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत प्राप्त गर्नुभएको थियो । ५३ मतान्तरका साथ खत्री विजयी हुनुभएको थियो भने १९ मत बदर भएको थियो । 

468960883_4755685334656719_6017614983586587431_n-1733125902.jpg
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्