सोसल मिडिया
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ निवासी ४२ वर्षीया नरपुरा बुढा गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) को तल्लो तह अर्थात पालिका सदस्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा सदस्य पदमा रहेर माओवादी विचार फैलाईरहनु भएकी नरपुरा अब स्थानीय सरकार सञ्चालनको जिम्मेवार स्थानमा शानदार रुपमा पुग्नुभएको छ ।
सत्ता साझेदार दलहरुको बलियो गठबन्धन भत्काएर उपाध्यक्षमा निर्वाचित नरपुराले यसपटक ल्याएको मत उहाँप्रति मतदाताले गरेको विश्वासको उत्कर्ष रुप हो । २०७९ को स्थानीय तह निर्वाचनमा एक्लाएक्लै लड्दा माओवादी केन्द्रकी भुपेन्द्रा बुढाले ४ हजार ५९, नेपाली कांग्रेसकी कमला कुमारी मल्लले २ हजार १० र नेकपा एमालेकी उम्मेदवार धर्म घर्ती बुढाले १ हजार ८१२ मत ल्याएको तथ्यांक छ । यस पटक भने माओवादी विरुद्ध कांग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए ।
२०७९ मा कांग्रेस र एमालेले पाएको मत जोड्दा ३ हजार ८१२ पुग्छ । तर, २०८१ मा आईपुग्दा यो मत २ हजार १२८ मा झरेको छ । यो अवस्थाले गठबन्धन गरेका दुई दलको लज्जास्पद हार भएको छर्लङ्ग भएको छ । गठबन्धन पनि यस्तो भयो कि उम्मेदवार एमालेका चुनाव चिन्ह कांग्रेसको ।
कांग्रेसको रुख चिन्हमा २ हजार १२८ मत ल्याउनु हुने उम्मेदवार केशकुमारी तुलाचन नेकपा एमाले रुकुम पूर्वको उपसचिव मात्र हैन, एमालेको महिला संगठनकी केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
मत बदर नहुने, दुबै पार्टी बिच चुनावी तालमेल बलियो हुने र माओवादीको आधार ईलाका भत्काउने दुई ठुला पार्टीको योजना विफल भएको छ । त्यसो त वडा नम्वर २ को वडा अध्यक्षका बलियो उम्मेदवार मानिएका गठबन्धनमा उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर माओवादी उम्मेदवारको प्रचार गर्न थालेसँगै एमाले - कांग्रेसको मत कम हुने आँकलन सुरु भएकै थियो ।
सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै निर्वाचित हुनुभएकी माओवादी केन्द्रकी नरपुरा बुढाले ३ हजार ६२७ मत ल्याउनु भएको छ । माओवादीको यो मत पनि २०७९ को भन्दा ४३२ कम हो । लगातार सत्तामा रहेको माओवादीले अपेक्षित काम गर्न नसकेको आम गुनासोका बिच जनमत आकर्षण गर्नुपर्ने कांग्रेस एमालेले माओवादीको मत कम खस्दा पनि लाभ लिन सकेनन् ।
उप निर्वाचनमा गाउँपालिकाभरी कुल ११ हजार १८० मतदाता रहेकोमा ५ हजार ९३१ मत मात्र खसेको थियो । खसेकोमा ५ हजार ७५५ मत सदर भयो भने १७६ मत बदर भयो ।
गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, उहाँको आमा र वडा नम्वर २ का वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको थियो । उप निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएर निर्वाचित हुनुहुने नरपुरा मृतक भुपेन्द्राको सहोदर दिदि हुुनुहुन्छ ।
भुपेन्द्रा उपाध्यक्ष हुँदा पालिकाभर सञ्चालन गरेका गतिविधि, ल्याएका योजना र जनभावना कदरको जिम्मेवारी नरपुरालाई सरेको छ । बहिनीको राजनीतिक सपना पुरा गर्न र गाउँपालिकावासीको सेवा गर्ने अवसर नरपुरालाई प्राप्त भएको छ । नरपुराको जितलाई भूपेन्द्राको सम्मानको रुपमा समेत लिईएको छ ।
रुक्मिणी माविबाट प्लस टुसम्म अध्ययन गर्नुभएकी नगरपुराले ६ वर्ष सम्म साना किसान सहकारी संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँक श्रीमान् बैदेशिक रोगजारीमा हुनुहुन्छ । उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ ।
सहकारीबाट चिनिनु भएकी, महिला स्वंयसेविका भएर सेवा गर्नुभएकी नरपुरा अव बहिनी भुपेन्द्राका प्रतिबद्धता पुरा गर्दै पालिकावासीको मतको कदर गर्नुपर्ने ठाउँमा उभिनु भएको छ ।